
काठमाडौँ- शिखर इन्स्योरेन्सले नयाँ स्वास्थ्य बीमा योजना ‘शिखर स्वास्थ्य सुरक्षा’ को सुरुवात गरेको छ। यस योजनाको औपचारिक सुभारम्भ २०८२ भाद्र २ गते मेडिसिटी अस्पतालमा एक कार्यक्रम आयोजना गरी गरिएको हो।
यो योजना व्यक्तिगत तथा परिवारका सम्पूर्ण सदस्यहरूका लागि उपयुक्त छ र यस अन्तर्गत रु. २० लाखसम्मको स्वास्थ्य बीमा गर्न सकिन्छ। हाल नेपालमा सीमित रकमको स्वास्थ्य बीमा सेवा उपलब्ध भएको अवस्थामा यो योजना बढ्दो स्वास्थ्य उपचार खर्चका लागि एक उत्तम विकल्प हुने कम्पनीको विश्वास छ।
‘शिखर स्वास्थ्य सुरक्षा’ अन्तर्गत बिमितले कम्पनीसँग आवद्ध नेपालका प्रतिष्ठित अस्पतालहरूमा भर्ना भई उपचार गराउँदा नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्। यस सुविधामा अस्पताल भर्ना हुँदा बिमितले बिल भुक्तानी गर्नुपर्ने छैन, सिधै अस्पताललाई भुक्तानी गरिनेछ। यसबाहेक, बीमा रकमको १० प्रतिशत (अधिकतम रु. १ लाखसम्म) को बहिरंग उपचार खर्चसमेत दाबी गर्न सकिनेछ।
यस बीमा योजनामा अस्पताल भर्ना हुनुभन्दा ३० दिनअघिको र डिस्चार्ज भएको ६० दिनपछिको खर्चसमेत दाबी गर्न पाइन्छ। अस्पताल भर्ना नभई गरिने १५० भन्दा बढी डे केयर उपचारको पनि बीमा सुरक्षण प्राप्त हुनेछ। साथै, भर्खर जन्मेका नवजात शिशुहरूको अस्पताल भर्ना भई गरिने उपचारको समेत यसमा बीमा सुरक्षण उपलब्ध छ।
यस योजनाको अर्को महत्त्वपूर्ण विशेषता भनेको दाबी नपरेको अवस्थामा बीमालेख नवीकरण गर्दा ‘नो क्लेम बोनस’ प्राप्त हुने व्यवस्था हो, जसले गर्दा दीर्घकालसम्म लाभ उठाउन सकिन्छ। यो बीमा सेवा नेपालमा बसोबास गर्ने नेपाली नागरिकका साथै विदेशी नागरिकहरूले समेत प्राप्त गर्न सक्नेछन्।