
पोखरा – संघीयता कार्यन्वयनको ८ वर्षमा गण्डकी प्रदेश सभा भवन निर्माण थालिएको छ। पोखराको नदीपुरमा बन्ने प्रदेश सभा भवनको मंगलबार शिलन्यास गर्दै निर्माण थालिएको हो।
गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलन्यास गरे। भवन शिलन्यासपछि मुख्यमन्त्री पाण्डेले समयमै काम सक्न निर्माण व्यवसायीलाई अनुरोध गरे। आफ्नै कार्यकालमा बैठक बस्ने गरेर काम सक्न उनको अनुरोध छ। ‘दुई वर्षमै काम सक्नुहोला’, उनले भने।
नदीपुरस्थित साविकको नगर प्रशिक्षण केन्द्रको भवनलाई टालटुल र रंगारोगनसहित चिटिक्क पारेर प्रदेश सभाको बैठक बस्दै आइरहेको छ। २०४९ सालमा निर्माण भएको भवनको पश्चिमतर्फ नयाँ भवन निर्माण हुन लागेको हो।
हरेक वर्षको नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकतामा परे पनि यसपालि निर्माण थालिएको सुविधासम्पन्न भवन २५ करोड ३७ लाख ८२ हजार ८६१ रुपैयाँ लागतमा बन्दै छ।
भ्याटसहित ४४ करोड ९९ लाख ६० हजार ३७६ रुपैयाँ लागतमा भवन निर्माणका लागि २०८१ साउन २१ गते बोलपत्र आह्वान भएको थियो। टेन्डर आह्वान भएको रकमको ३२.४१ प्रतिशत घटेर भवन निर्माणको ठेक्का श्रेष्ठ एण्ड सन्स र इष्ट–वेष्ट जेभी काठमाडौँले लिएको हो। २०८१ माघ १८ गते ठेक्का सम्झौता भएकोमा २०८४ माघ १७ गते सक्नुपर्ने उल्लेख छ।
हालको प्रदेश सभा भवन पूरानोसँगै साँघुरोसमेत भइरहेको छ। प्रदेश सभा सदस्य बैठक चलेको बेला आउजाउ गर्न निकै सास्ती हुने गरेको छ। प्रिफ्याबका भवन निर्माण गरेर संसदीय दल र समितिको कार्यालय सञ्चालन भएको छ।
नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रहेर प्रदेश सरकारले भोगचलन गर्दै आइरहेको ११० रोपनीमध्ये सात रोपनी क्षेत्रफलमा नयाँ भवन बन्नेछ। प्रदेशको नाममा जग्गा हस्तान्तरण गर्न माग गरेको भए पनि संघीय सरकारले ६४ रोपनी जग्गा भोगाधिकार मात्र दिएको छ।
स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान हुँदै नगर विकस प्रशिक्षण केन्द्रले बनाएको संरचनामा अहिले प्रदेश सभासँगै प्रदेश प्रशिक्षण प्रतिष्ठान पनि सञ्चालन भइरहेको छ। प्रदेशको सरकारको नाममा यहाँको जग्गा मागेपनि संघ सरकारले ६४ रोपनीको मात्रै भोगाधिकार दिएको छ।
दुई वटा लिफ्टसहितको भवन तीन तलाको बन्ने सहरी विकास तथा भवन कार्यालय कास्कीका प्रमुख सिडिइ ओमराज ढुंगानाले बताए। उनका अनुसार एक हजार ८४५ वर्ग मिटरको भुइँतलामा मुख्यमन्त्री, सभामुख, उपसभामुख, विपक्षी दलका नेता र संसद् सचिवालय सचिवको कार्यालय हुनेछ। संसदीय दलको बैठक कक्ष र पाँचवटा भीआईपी कार्यालय पनि हुनेछ।
पहिलो तलामा संसद्को बैठक कक्ष बन्नेछ। ७८ जना अट्ने गरी बैठक कक्ष निर्माण हुँदै छ। पहिलो तलामा ८० जना क्षमताको दर्शकदीर्घासँगै बहुउद्देश्यीय बैठक कक्ष, स्टोर बन्नेछ। सामान्य र भीआइपी कक्ष, मार्सल अफिस, कार्य व्यवस्था परामर्श समितिको बैठक कक्ष, लाइब्रेरी, भिडियो कन्फरेन्स हल र टिभी स्टुडियो हुनेछ। पहिलो तला एक हजार ४९६ वर्ग मिटरको क्षेत्रफलमा हुनेछ। दोस्रो तला ७३९ वर्गमिटरका हुनेछ।
प्रदेशसभाको पहिलो कार्यकालमा सरकारले एक अर्ब ४६ करोड रुपैयाँको इस्टिमेट तयार पारेर भवन बनाउने योजना बनाएको थियो। पछि ठूलो रकम खर्चन सक्ने अवस्था भएपछि घटाएर नयाँ डिजाइन बनाइएको हो।