
विभिन्न देशको समन्वयमा हमास र इजरायल बिचको पछिल्लो युद्ध विराम सम्झौतालाई लिएर इजरायलले ढुक्क हुन नसक्ने बताएको छ। इजरायली अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले दिएको जानकारी अनुसार इजरायलले गाजामा रहेका सबै ५० जना बन्धकहरूको रिहाइ हुनुपर्ने आफ्नो अडान कायम राखेको छ।
साथै उसले सोमबार हमासले सहमति जनाएको ६० दिनको युद्धविराम प्रस्तावप्रति शंका प्रकट गर्दै सम्पूर्ण बन्धक रिहाइ बाहेकको विकल्पमा इजरायल सहमत हुन नसक्ने जनाएको हो। कतार र इजिप्टले अघि सारेको प्रस्तावअनुसार करिब आधा बन्धकलाई मुक्त गरिने छ र कतारका अनुसार यो प्रस्ताव अघिल्लो पटक इजरायलले स्वीकार गरेको अमेरिकी प्रस्तावसँग मिल्दो छ।
इजरायलले यसलाई खुला रूपमा अस्वीकार गरेको छैन, तर इजरायली सरकारी प्रवक्ता डेभिड मेंसरले अब हमाससँग आंशिक सम्झौतामा इजरायलको चासो नरहेको बताए। उनले भने,’अब परिस्थिति बदलिएको छ। प्रधानमन्त्रीले गाजाको भविष्यका लागि एउटा योजना अघि सारेका छन्।’
प्यालेस्टीनी स्रोतहरुलाई उल्लेख गर्दै दिएको जानकारी अनुसार १० जना जीवित र १८ जना मृत बन्धकहरू हमासले इजरायललाइ बुझाउने छ। त्यसैबीच दुवै पक्षले स्थायी युद्धविराम र बाँकी बन्धकहरूको फिर्ताबारे वार्ता गर्नेछन्। २२ महिनादेखिको युद्धपछि ५० मध्ये केवल २० जना मात्र बन्धकहरू जीवित रहेको विश्वास गरिन्छ।
यसै साताभित्र इजरायली मन्त्रिपरिषद्ले गाजा सिटीमा सैन्य कब्जा गर्ने योजनालाई स्वीकृति दिने अपेक्षा गरिएको छ, जहाँ तीव्र इजरायली आक्रमणका कारण हजारौं मानिसहरू भाग्न बाध्य भएका छन्। गत महिना हमाससँग युद्धविरामबारेको अप्रत्यक्ष वार्ता विफल भएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजाको सम्पूर्ण भूभाग जहाँ २१ लाख प्यालेस्टिनी बस्छन सबै कब्जा गर्ने घोषणा गरेका थिए।
सोमबार राति जारी गरिएको विज्ञप्तिमा हमास र अन्य प्यालेस्टिनी समूहहरूले इजिप्ट र कतारका मध्यस्थकर्ताले आइतबार कायरोमा प्रस्तुत गरेको युद्धविराम प्रस्तावलाई स्वीकृति दिएको घोषणा गरिएको थियो।
हमासका अधिकारी ताहेर अल-नुनुले अल-अरबी टिभीसँग कुरा गर्दै प्रस्तावमा कुनै संशोधन मागिएको छैन, र यसलाई उनले ‘पूर्ण सम्झौतासम्म पुग्ने एउटा आंशिक सम्झौता’ का रुपमा व्याख्या गरेका थिए। उनले थप भने, प्रस्ताव लागू भएको पहिलो दिनमै स्थायी युद्धविरामका लागि वार्ता सुरु हुने छ।
कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल-अन्सारीले मंगलबार दोहामा पत्रकारलाई भने,,’यो प्रस्ताव जुन महिनामा अमेरिकी दूत स्टिभ विटकोफले प्रस्तुत गरेको प्रस्तावसँग मिल्ने खालको छ।’
विटकोफले ६० दिनको युद्धविराम प्रस्ताव गरेका थिए। जहाँ पहिलो र सातौं दिनमा हमासले १० जना जीवित बन्धक र १८ जना मृत बन्धकका शवहरू बुझाउने र त्यसको सट्टामा इजरायलले आजीवन कारावास भोगिरहेका १२५ जना प्यालेस्टिनी कैदी, गाजाबाट १,१११ जना बन्दी, साथै १८० जना गाजावासीका शवहरू फिर्ता गर्ने जनाइएको थियो।
इजरायलले विटकोफ योजना स्वीकार गरेको थियो, तर हमासले अस्थायी युद्धविरामलाई स्थायी युद्धविराममा परिणत गर्ने ग्यारेन्टी नदिइएको भन्दै उक्त प्रस्ताव अस्विकार गरेको थियो। प्यालेस्टिनी अधिकारीलाई दिएको जानकारी अनुसार इजिप्ट र कतारको प्रस्तावअनुसार हमासले पहिलो दिन ८ जना जीवित बन्धक र ५० औं दिन थप २ जना जीवित बन्धक छाड्ने छ। सातौं दिन ५ जना मृत बन्धकको शव हस्तान्तरण गर्दा ३० औं दिन थप ५ जना र ६० औं दिन ८ जना मृत बन्धकका शव बुझाइने गरी सहमति गरिएको उल्लेख छ।
यसको सट्टामा इजरायलले गाजाबाट १,५०० जना बन्दीहरू, आजीवन कारावास भोगिरहेका १५० जना प्यालेस्टिनी कैदी र १५ वर्षभन्दा बढी सजाय काटिरहेका थप ५० कैदीलाई मुक्त गर्ने छ। युद्धविराम अवधिमा इजरायली सेना गाजाको भित्री क्षेत्रमा इजरायलसँगको सीमाबाट ८०० मिटरदेखि १.२ किलोमिटर दूरीसम्म फिर्ता हुनेछन्। तर दक्षिण गाजाका मोराग र फिलाडेल्फी सैन्य मार्गहरूमा भने उनीहरू तैनाथ रहने जनाइएको छ।