
हुम्ला – नाम्खा गाउँपालिका– ६ को ताक्चीमा लिमी कर्णालीमा दुई वटा गाडीलई डोरीले बाँधेर तार्नुपरेको छ। नदीमा पानीको बहाब बढेपछि तौललाई तल–माथि हुन नदिन र पानीमाा गाडी पल्टिने जोखिमबाट बच्न यसरी दुई वटा गाडीलाई डोरीले बाँधेर तार्नु परेको हो।
एउटा मात्र गाडी नदीमा तर्दा पल्टिने सम्भावना बढी देखिएपछि दुई वटा गाडी बाँधेर तार्ने ब्यवस्था गरिएको उक्त नदी पार गरेका चालक पुरन रावतले बताए। अझ नदी तार्ने दुवै गाडीमा यात्रु, सामान र पछाडिको डिब्बामा ढुङ्गा समेत राखेर तौल गरुङ्गो बनाउने गरिन्छ।
सिमकोटबाट लिमी र लाप्चा जाने बोलेरो जीपलाई यसरी डोरीले बाँधेर तर्ने ब्यवस्था चालक आफै मिलेर गर्छन्। लिमीको जाङ् गाउँका स्थानीय कुन्चोक तामाङले लिमी लाप्चा आउने यातायातका साधन निकै जोखिम उठाएर यात्रा गरिरहेको बताए।
तीन वर्षदेखि उक्त नदीमा संम्भव भए पक्की पुल नभए बेलिब्रीज निर्माणका लागि पूर्वाधार विकास कार्यालय र हिल्सा–सिमकोट सडक योजनालाई माग गर्दा कुनै सुनुवाइ हुन नसकेको उनको गुनासो छ।