
मुगु – नेपालको पर्यटकीय गन्तव्य रारा ताल निरन्तर वर्षाका कारण सुनसान बनेको छ। आन्तरिक र बाह्य पर्यटकको आगमन घटेपछि यहाँको घोडा चढी व्यवसाय ठप्प छ भने दर्जनौ होटल–लजहरू पनि खाली भएका छन्। पाहुना नआएपछि होटेलमा घाम तापी बस्नुको बिकल्प नभएको पर्यटन राराका पर्यटन ब्यबसायी डबल बहादुर रोकायाको भनाइ छ।
रारा भ्रमणमा आउने अधिकांश पर्यटक घोडा चढेर ताल वरिपरि घुम्ने परम्परा छ। तर वर्षायाम बर्षा सँगै यात्रु आउन छोडेका छन्। छायाँनाथ रारा–८ झ्यारी गाउँका घोडा व्यवसायी दन्तबिर कामी भन्छन् “अघिल्लो वर्ष यतिबेला दैनिक १०–१५ पर्यटक घोडा चढ्थे, अहिले कहिलेकाहीँ मात्र १–२ जना आउँछन्। घोडा दिनदिनै खाली बसिरहेका छन् घोडाको खर्च मात्र बढिरहेको छ।”
घोडा व्यवसायबाट दैनिक खर्च धान्दै आएका स्थानीय अहिले आम्दानी विहीन भएका छन्। सोही वडाका अर्का व्यवसायी पुष्पराज विकका अनुसार “सिजनमा एक जनाले दैनिक एक हजारदेखि १५ सय रुपैयाँ कमाइ हुन्थ्यो। अहिले बेरोजगार झैं भइयो। लामो समय यसरी पर्यटक नआए जीविकोपार्जनमा ठूलो संकट पर्छ।”
रारा क्षेत्रमा हाल झण्डै १०० घोडा व्यवसायी प्रत्यक्ष प्रभावित भएका छन्। रारा राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रिसिकेश यादवका अनुसार, नयाँ आर्थिक वर्षदेखि भदौको पहिलो हप्तासम्म जम्मा १०० आन्तरिक पर्यटक मात्र रारा पुगेका छन्।
रारा राष्ट्रिय निकुञ्जको तथ्याङ्क असार गत आर्थिक बर्षमा १७ हजार २ सय ९७ जना पर्यटकहरू रारा घुम्न आएका थिए । ४७ लाख ५७ हजार ५ सय ९६ रूपयाँ राजस्व संकलन भएको थियो।