काठमाडौँ- महालक्ष्मी विकास बैंकले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म सन्तुलित वित्तीय प्रदर्शन गर्दै सकारात्मक सुधार देखाएको छ।
बैंकले हालै प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस वर्ष बैंकको खुद नाफा रुपैयाँ पचास करोड तीन लाख पुगेको छ।
बैंकको लाभांश वितरण क्षमता उल्लेख्य वृद्धि भई ११.५१ प्रतिशत पुगेको छ। असारमसान्तसम्म बैंकले कुल ५६ अर्ब २२ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ भने ४५ अर्ब ८५ करोड रूपैयाँ कर्जा परिचालन गरेको छ।
यसवर्ष कर्जा परिचालनमा अघिल्लो वर्षको तुलनामा ५.०५ प्रतिशत वृद्धि भएको छ। वित्तीय विवरण अनुसार, शेयरधनी कोषमा प्रतिफल ११.७९ प्रतिशत रहेको छ भने कर्जा-निक्षेप अनुपात ८३.९८ प्रतिशत छ।
खराब कर्जा अनुपात ४.८६ प्रतिशत मात्र रहेको छ, जुन नेपाल राष्ट्र बैंकको निर्धारित सीमा भित्र पर्दछ।
बैंकको पुँजी पर्याप्त भएको कारणले आगामी दिनमा व्यवसाय विस्तारका लागि कुनै पुँजीगत दबाब नदेखिएको बताइएको छ।
कोष लागत प्रतिशत यस आर्थिक वर्ष असारमसान्तसम्म ४.५६ प्रतिशत रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा २.४७ प्रतिशत कम हो।
कोष लागत कम भएको कारण आधार दरमा समेत सकारात्मक असर परेको छ र साउन मसान्तसम्म बैंकको आधार दर ६.५४ प्रतिशत कायम भएको छ। आधार दर घट्दा ऋणीले लिने ऋणको ब्याजदर पनि कम हुने भएकाले यसको प्रत्यक्ष लाभ ग्राहकले लिन सक्नेछन्।साथै, बैंकले आफ्नै मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’ मा भर्चुअल क्रेडिट कार्डको सुविधा थप गरेको छ।
बैंकले देशभर १०३ शाखा कार्यालय र ८ लाखभन्दा बढी ग्राहकलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































