
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका स्पिनर ललित राजवंशीले जनता आवास योजनाअन्तर्गत विपन्नलाई घर दिने सरकारी योजनाको लाभ आफूले नलिने बताएका छन्। जनता आवासमार्फत कोशी प्रदेशसभा सदस्यले ललितको घर बनाइदिने बताएका थिए।
यो योजनामार्फत सरकारले अति विपन्न घर नहुनेहरुलाई ३ लाख ५० हजार रुपैयाँ बराबरको एकतल्ले घर निर्माण गरिदिने गरेको छ। जसमा १० प्रतिशत सम्बन्धित घर धनीले व्यहोर्नुपर्ने हुन्छ। यो योजनाअन्तर्गत ग्रामिण भेगमा ३ कोठे घर बन्ने गरेका छन्।
कतिपयले यही रकममा अलि बढी आफ्नो पैसा खर्च गरेर बस्न मिल्ने बनाउँछन्। तर, यति पैसामा ३ कोठे घर र छुट्टै शौचालय बनाउनु पर्नेहरुले भने अत्यन्तै साँघुरो र जीवीकापार्जन गर्नका लागि नै सकस हुने खालका रहेका छन्।
जबकि राष्ट्रिय टिमका स्टार खेलाडी ललितले पछिल्लो समयमा विभिन्न प्रतियोगिताको म्यच फि र क्यानको मासिक तलब तथा विज्ञापन गरेर वार्षिक लाखौँ रकम कमाउने गरेका छन्। उनले क्यानबाटै मासिक ७० हजार रुपैयाँ तलबबाट मात्र प्राप्त गर्ने गरेका छन्। त्यसैले ललितलाई ‘जनता आवास’ को घर बनाइदिने घोषणा नै आफैमा अमिल्दो हो।
उनी मातृशोकमा रहेको अवस्थामा कोशी प्रदेशसभा सदस्य अमृत अर्यालले घरको अवस्था जीर्ण भएको भन्दै ‘जनता आवास’ कार्यक्रमअन्तर्गत उनको ठाउँमा निर्माण गरिने ६ मध्ये एउटा घर ललितलाई बनाइदिने घोषणा गरेका थिए।
उनको यो घोषणापछि सामाजिक सञ्जालमा कतिपयले ललितलाइ व्यंग्य गरिएको रुपमा बुझेका छन्। धेरैले उनको यो घोषणाको आलोचना गरेका थिए। कतिपय समर्थकले भने सरकारले घर नै बनाइदिने हो भने ‘जनता आवास’अन्तर्गत होइन, उनले देशलाई दिएको योगदानअनुसारको घर बनाइदिनु पर्ने बताएका थिए।
सांसदको उक्त घोषणापछि ललितले आफू घर बनाउन सक्षभ रहेको घोषणा गर्न बाध्य हुनुपरेको थियो। उनले भने, ‘म घर बनाउन सक्षम छु। आफ्नै प्रयासमा निर्माण गर्न सक्छु। यो सुविधा साँच्चिकै घरविहीन र विपन्न परिवारका लागि प्रयोग हुनु न्यायसँगत छ।’ उनले सरकारले सम्मानस्वरूप दिने सहयोग आफूले नलिने बताए।
ललितको परिवार पाँच पुस्तादेखि मोरङको विराटनगरमा बस्दै आएको छ। पछिल्लो समय ललित आर्थिक रूपमा सबल बनेका छन्। उनी नेपाल पुलिसमा करार सेवामा समेत रहेका छन्। उनले पुरस्कार, म्याच फि, क्लब, तलब, विज्ञापन गरेर वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्छन्।