
हुम्ला – सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिका– ५ को भदाले बस्ती र रिङरोड उच्च जोखिममा रहेका छन्। दैनिक वर्षा भइरहने भएका कारण रिङरोडको सडक छेउबाट पहिरो जान सुरु भएपछि भदाले बस्ती र सडक जोखिममा परेका हुन्।
भदाले बस्तीका स्थानीय कृष्णबहादुर रोकायाले आफ्नो सहित एघार वटा घर, सडक र खेती लगाएको जग्गा पहिरोको उच्च जोखिममा रहेको बताए।
भदाले बस्तीको माथि गुम्बाबाट वर्षाको पानी बगेर आउने र सो पानी भदालेको ग्याविन भरेको सडक छेउमा छिर्ने भएको कारण कच्ची सडकको जमिन चिरा परेपछि जोखिम बढेको होे। बर्षाको पानी ग्याविनमा छिरेर केही ग्याविन भत्किएको र केही भत्किने तयारीमा रहेको कारण पहिरोको उच्च जोखिम बढेको छ।
भदाले वस्तीका अर्का स्थानीय गोरा रावतले किनार भासिन सुरु भई सकेकोले घरहरुलाई जोखिम बढेको बताउदै घरको दश मिटर पर पहिरो झरि सकेको कारण त्रास बढेको उनले बताए।
पानी पर्न सुरु भएपछि चिन्ता लाग्न थालेको उनको भनाई रहेको छ। सडकको सो खण्ड सिमकोट बजारको रिङरोड समेत पर्छ। सडक पुर्बतर्फ सबै भिरालो जमिन रहेको छ।
भदाले बस्तीबाट गुम्बासम्मको एक सय मिटर रिङ्रोडको सडक सबै कही पहिरोले बगाएको छ भने केही चिसा पारेर पहिरो जाने तयारी अवस्थामा छ।