
झापा- झापाको अर्जुनधारा नगरपालिका-११ मा आफ्नै घरमा खेल्दा साडीको पिङमा पासो लागेर १० वर्षीय बालकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय, झापाका अनुसार अर्जुनधारा-११, बालविकास टोलका नेत्र प्रसाद सिवाका छोरा प्रदिप सिवाको साडीको पिङ खेल्ने क्रममा घाटिमा बेरिएर मृत्यु भएको हो।
बिहीबार दिउँसो करिब १६:४५ बजेको समयमा आमाले पासो लागेर झुन्डिएको अवस्थामा देखेपछि उनलाई तत्कालै उद्धार गरी बिर्तामोडस्थित बिएण्डसी अस्पताल पुर्याइएको थियो।
अस्पतालमा चिकित्सकले बालकलाई मृत घोषित गरेको प्रहरीले जनाएको छ।
घटनास्थलमा पुगेको इलाका प्रहरी कार्यालय, अनारमनीको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल, भद्रपुर पठाएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।