
दाङ- रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका–७ धाक्रीपानीका एक बालकको अरिँगालको टोकाइबाट मृत्यु भएको छ।
भाद्र ५ गते विद्यालयबाट घर फर्कने क्रममा अरिँगालले आक्रमण गर्दा ६ जना बालबालिका घाइते भएका थिए ।
घाइतेमध्ये ७ वर्षीय मोहन परियारको उपचारका क्रममा रेउघास्थित रोल्पा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य पाँच जना घाइतेलाई थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान रेफर गरिएको छ ।
घाइतेहरूमा १४ वर्षीया सुनिता परियार, १० वर्षीय शंकर परियार, १० वर्षीया मनिषा परियार, ४ वर्षीय आशिष परियार र ८ वर्षीय कमल परियार रहेका छन् ।
विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत ती बालबालिका विद्यालय छुटेपछि घर फर्कँदै गर्दा अरिँगालले आक्रमण गरी शरीरका विभिन्न भागमा टोकेर घाइते बनाएको थियो ।
प्रारम्भिक उपचार तिला स्वास्थ्य चौकीमा गरी उनीहरूलाई रोल्पा अस्पताल पुर्याइएकोमा एक जनाको मृत्यु भएको हो ।