
काठमाडौँ – अस्ट्रेलियाको नर्दन टेरोटोरीमा जारी टप इन्ड टी-२० सिरिजअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल पाकिस्तान शहिन्सासँग १ रनले पराजित भएको छ।
पराजित भएसँगै नेपालको शीर्ष चारको सम्भावना सकिएको छ। जितसँगै पाकिस्तान शहिन्सा प्लेअफमा स्थान बनाउन सफल भएको छ। उसको ६ खेलबाट ८ अङ्क भएको छ। जितसँगै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान शहिन्साले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। १ सय ४५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४३ रन मात्र बनाउन सक्यो।
नेपालका लागि कप्तान रोहित पौडेलले ५२ रनको अर्धशतकीय इनिङ्स खेल्दा उनले ४४ बलमा ६ चौका र १ छक्का प्रहार गरेका थिए।
त्यस्तै, दिपेन्द्र सिंह ऐरीले २१ बलमा २ चौका र १ छक्काको सहयोगमा ४१ रन बनाउँदा थप दोहोरो स्कोरका रुपमा आसिफ शेखले २७ र लोकेश बमले १० रन बनाए।
शहिन्साका लागि फिसल अक्रम र मोहम्मद वासिमले २-२ विकेट लिँदा मोहम्मद सलमानले १ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको शहिन्सा खराब सुरुवातका बाबजुत सम्हालिएको थियो। ६० रन जोड्दा ६ विकेट गुमाएको उसले पुरै ओभर खेल्दै ९ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो।
उसका लागि कप्तान इरफान खानले ४२ रनको नटआउट इनिङ्स खेल्दा मोहम्मद वासिमले २३ रन बनाए। त्यस्तै, अब्दुल समादले २६ तथा यशीर खानले १८ रन बनाएका थिए।