
नेपालभरि मनाइने हिन्दू नेपाली महिलाहरूको सबैभन्दा ठूलो पर्व हो तीज। तीज नेपालको प्रमुख धार्मिक, सांस्कृतिक र सामाजिक पर्वमध्ये एक हो। भाद्रशुक्ल द्वितीयादेखि पञ्चमीसम्म चल्ने यस पर्वको मुख्य दिन तृतीया पर्छ।
पर्वको सुरुमा ‘दर खाने दिन’ आउँछ, जसमा महिलाहरू माइती घरमा जम्मा भएर परिकार खाएर व्रत बस्ने शक्ति प्राप्त गर्छन्। मुख्य दिन तृतीयामा नदीमा स्नान गरी शुद्ध भएर भगवान शिव र पार्वतीको पूजा गर्दछन्। विवाहित महिला पतिको दीर्घायु र सुख–शान्तिको कामना गर्दै निराहार व्रत बस्छन् भने अविवाहित महिला योग्य वरको आशामा व्रत बस्ने परम्परा पालना गर्छन्।
विशेष गरी महिलाले यस दिन व्रत बस्ने, गीत–संगीत गर्ने, नृत्य गर्ने, पूजा आराधना गर्ने र सामाजिक मेलमिलापमा सहभागी हुने गर्छन्। तीजको पौराणिक कथा अनुसार, पर्वतराज हिमालयकी पुत्री पार्वतीले महादेवसँग विवाह गर्ने इच्छा राखिन्। उनका पिताले उनलाई भगवान विष्णुसँग विवाह गर्न निधो गरे। पार्वतीले निर्णय अस्वीकार गरेपछि उनी आफ्ना साथीहरूसँग छल–कपट गरी घरबाट हरण भयो। लुकेका स्थानमा पार्वतीले कठोर व्रत बसेर महादेवको पूजा आराधना गरिन्। महादेव प्रसन्न भए र विवाह सम्पन्न भयो। यही कारणले तीजलाई ‘हरितालिका’ पनि भनिन्छ।
तीजले नारी स्वतन्त्रता र आत्मसशक्तिकरणको सन्देश दिन्छ। व्रत बस्दा महिलाले आफ्नो इच्छाअनुसार वर रोज्ने अधिकारको प्रतीक अनुभव गर्छन्। पर्वमा गाइने तीज गीतहरूले भगवानप्रतिको भक्तिपूर्ण कथा, महिला जीवनका चुनौती, व्यक्तिगत पीडा र सामाजिक असमानताको चेतना समेट्छ। विगतमा यी गीतहरू प्रायः धर्मिक भावनामा केन्द्रित थिए भने हालका गीतहरू सामाजिक विसंगति र लैङ्गिक समानताबारे जागरूकता ल्याउँछन। परम्परागत दृष्टिले तीजलाई धार्मिक विश्वास, पतिको दीर्घायु र पारिवारिक समृद्धि संग जोडिन्छ। तर पोजिटिभ साइकोलोजीको दृष्टिकोणले हेर्दा, यसले नारीहरूको मानसिक स्वास्थ्य, सकारात्मक भावना, सामाजिक सम्बन्ध, आत्मसशक्तिकरण र रचनात्मकतालाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण भूमिका खेल्छ।
सकारात्मक भावनाः तीजका अवसरमा महिलाहरू गीत गाउने, नाच्ने, रमाइलो गर्ने र सामाजिक भेटघाटमा सहभागी हुन्छन्। यी गतिविधिले आनन्द, खुशी र सकारात्मक भावना उत्पन्न गर्छ। पोजिटिभ साइकोलोजीमा सकारात्मक भावना मानसिक स्वास्थ्यको प्रमुख कारक मानिन्छ। नियमित रूपमा सकारात्मक अनुभवहरू प्राप्त गर्दा, तनाव कम हुन्छ, जीवनको सन्तोष बढ्छ र मानसिक लचिलोपन विकास हुन्छ। उदाहरणका लागि, तीजका गीतहरूमा पारिवारिक प्रेम, आशा र जीवनको सौन्दर्यको झलक देखिन्छ, जसले मनमा आनन्द र आत्मविश्वास बढाउँछ।
सामाजिक सम्बन्धः तीजले सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ। महिलाहरू माइती घर फर्कन्छन्, साथीहरूसँग भेटघाट गर्छन् र अनुभव साटासाट गर्छन्। पोजिटिभ साइकोलोजीले सामाजिक समर्थन र सम्बन्धलाई जीवनको गुणस्तर बढाउने महत्वपूर्ण तत्व मान्छ। यस पर्वले महिलाहरूलाई भावनात्मक समर्थन, आपसी समझदारी र सामाजिक नेटवर्क निर्माण गर्ने अवसर दिन्छ। ग्रामीण क्षेत्रका महिलाहरूका लागि, तीजले सामाजिक एकता र समुदायको आत्मीयता बढाउने महत्वपूर्ण भूमिका खेल्छ।
जीवनको उद्देश्य र आत्मसशक्तिकरणः तीजको व्रत बस्ने अभ्यासले महिलामा आत्मनियन्त्रण र आत्मसशक्तिकरणको भावना पैदा गर्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दा, अविवाहित महिलाले योग्य वरको आशा राख्दा आफ्नो जीवनसँग सम्बन्धित उद्देश्य महसुस गर्छन्। पोजिटिभ साइकोलोजीका अनुसार, जीवनको उद्देश्यले मानसिक स्वास्थ्य, आत्मसन्तोष र दीर्घकालीन भलाइमा योगदान पुर्याउँछ।
कृतज्ञताः तीजको पूजा, भगवान शिव र पार्वतीको आराधना, र पारिवारिक र सामाजिक सहयोगको अनुभव महिलामा कृतज्ञताको भावना उत्पन्न गर्छ। कृतज्ञता अभ्यासले तनाव घटाउँछ, खुशी बढाउँछ र सकारात्मक मानसिक अवस्था सिर्जना गर्छ। महिलाले आफ्नो जीवनका उपलब्धिहरू र सम्बन्धहरूको मूल्यांकन गर्दा, उनीहरूको आत्मसम्मान र मानसिक बल बढ्छ।
रचनात्मकताः तीजमा महिलाहरू गीत–संगीत, नृत्य, पोशाक र सजावटमार्फत आफ्नो रचनात्मक पक्ष व्यक्त गर्छन्। पोजिटिभ साइकोलोजीमा रचनात्मकता व्यक्तिगत सन्तोष र सामाजिक सम्बन्धलाई बलियो बनाउने माध्यम मानिन्छ। यसले सांस्कृतिक पहिचान, आत्मअभिव्यक्ति र सामाजिक सहभागितालाई प्रवर्धन गर्छ।
मनोवैज्ञानिकः तीजको व्रत बस्ने परम्परा कठिन अभ्यास हो। यसले महिलामा मनोवैज्ञानिक लचिलोपन बढाउँछ। चुनौतीपूर्ण अभ्यास र आत्मसंयमले महिलालाई समस्यासँग सामना गर्ने क्षमता विकसित गराउँछ। मानसिक स्वास्थ्य र दीर्घकालीन भलाइका लागि यो अत्यन्त महत्त्वपूर्ण पक्ष हो।
उपवास र मानसिक स्वास्थ्यः तीजमा हुने उपवासले स्वास्थ्य र मानसिक लाभ दुवै प्रदान गर्छ। यसले शरीरको तौल घटाउन, रक्तचाप र रगतमा चिनीको स्तर नियन्त्रण गर्न सहयोग पुर्याउँछ। हृदय र मेटाबोलिज्मलाई स्वस्थ राख्छ, कोर्टिसोल र केटोन बडी उत्पादन बढाउँछ। मानसिक स्पष्टता, ध्यान क्षमता र आत्मअनुशासन सुधार हुन्छ। दीर्घकालीन रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुन्छ। उपवासले भावनात्मक सन्तुलन कायम गर्न, तनाव कम गर्न र आत्म नियन्त्रण बढाउन मद्दत गर्छ। सांस्कृतिक रूपमा, तीजको उपवासले सामाजिक एकता, सहिष्णुता र आध्यात्मिक उन्नतिको भावना जगाउँछ। यसरी, तीजको उपवास स्वास्थ्य, मानसिक र सामाजिक पक्षमा दीर्घकालीन फाइदा र्पुयाउने अभ्यास हो।
सांस्कृतिक र सामाजिक महत्वः तीज न केवल धार्मिक र सांस्कृतिक पर्व हो, तर सामाजिक एकता, महिला सशक्तिकरण र समुदायको मनोवैज्ञानिक भलाइमा योगदान गर्ने माध्यम पनि हो। पर्वले परिवार, समाज र समुदायबीचको सम्बन्ध बलियो बनाउँछ, भावनात्मक समर्थन बढाउँछ र महिलाहरूलाई सामाजिक र सांस्कृतिक रूपले सशक्त बनाउँछ।
तीज पर्व पोजिटिभ साइकोलोजीका मुख्य सिद्धान्तसँग प्रत्यक्ष सम्बन्ध राख्छ। यसले नारीहरूको सकारात्मक भावना, सामाजिक सम्बन्ध, जीवनको उद्देश्य, आत्मसशक्तिकरण, कृतज्ञता, र रचनात्मकतालाई प्रवर्धन गर्छ। धार्मिक र सांस्कृतिक अभ्यासले मानसिक स्वास्थ्य, आत्मविश्वास र सामाजिक भलाइमा सकारात्मक प्रभाव पार्छ। यसरी, तीज केवल सांस्कृतिक पर्व मात्र नभएर नारीहरूको मानसिक स्वास्थ्य र सामाजिक सशक्तिकरणको शक्तिशाली माध्यम हो।