
झापा- इलामको एक होटलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।
पाँचथर हिलिहाङ गाउँपालिका ३ का ३४ वर्षीय डुप्छेन शेर्पा आज बिहान इलाम बसपार्कस्थित गजुरमुखी होटलको कोठा नं. १०७ मा मृत फेला परेका हुन्।
उनी कोठाको झ्यालको भेन्टिलेसनमा जुत्ताको लेसको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएका थिए। कोठा भित्रबाट चुकुल लगाएको पाइएको प्रहरीले जनाएको छ।
अस्थायी नगर प्रहरी पोष्ट चोकबजारबाट प्रहरी नायव निरीक्षक प्रकाश राजवंशी र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक संजिब बोगटीको कमान्डमा खटिएको टोलीले घटनास्थलमा अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले बताएको छ।