
झापा- राष्ट्रिय आविष्कार केन्द्रका वैज्ञानिक डा. महावीर पुनको आत्मकथा ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ झापामा ३० हजार थान बिक्री भएको छ। यसबाट रु दुई करोड २५ लाख सङ्कलन भएको छ।
आविष्कार केन्द्रको सहयोगार्थ गत एक महिना उनी झापामा पुस्तक बिक्री अभियानमा थिए।
महाकालीबाट सुरु भएको पुस्तक बिक्री अभियानमा झापा सबैभन्दा बढी पुस्तक बिक्री हुने जिल्ला बनेको छ। झापामा ३० हजार थान पुस्तक बिक्री भएकोमा सुनसरीमा २७ हजार र रुपन्देहीमा २० हजार प्रति बिक्री भएको थियो।
यस अवधिमा उनी जिल्लाको १५ वटै पालिकामा पुगेका थिए। भद्रपुरमा मात्रै सात दिनमा तीन हजार २१९ प्रति पुस्तक बिक्री भएको अभियानका संयोजक दिपेश ढकालले जानकारी दिए।
ढकालका अनुसार डा. पुन अति साधारण जीवनशैलीका व्यक्तित्व हुन्। उनी पुस्तक बिक्रीबाट सङ्कलन भएको रकम राष्ट्रिय आविष्कार केन्द्रको बैंक खातामा नियमित जम्मा गर्दैछन्।
यसरी सङ्कलन भएको रकम वीरगञ्ज औजार कारखाना सञ्चालनमा खर्च भइरहेको पुनले बताए। अहिलेसम्म दुई लाख ३० हजारभन्दा धेरै पुस्तक बिक्री भइसकेको र खर्च कटाएर रु १२ करोड बचेको उनले जानकारी दिए।