काठमाडौँ- युवाकवि मोतीराम भट्टको १६० औँ जन्मजयन्तीको अवसरमा राजधानीमा शनिबार आयोजित विशेष साहित्यिक समारोहमा गजलकार दम्पत्ति सप्रेम अर्चना र विभोर बरालका गजलसङ्ग्रहहरू विमोचन गरिएको छ।
अनाम मण्डलीको आयोजनामा गौशाला, पिङलास्थानस्थित नेपाल सङ्गीत विद्यालयमा भएको कार्यक्रममा अर्चनाको ‘मनले अब पङ्ख उचालिसक्यो’ र बरालको ‘मनभित्र ब्रम्हाण्ड छ’ शीर्षकका गजलसङ्ग्रहहरू विमोचन गरियो।
स्वर प्रकाशन–स्वर द्वैमासिक पत्रिकाबाट प्रकाशित यी कृतिहरूले नेपाली गजलसाहित्यमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

अनाम मण्डलीद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार तथा लेखक रोचक घिमिरे थिए। कार्यक्रममा प्रा.डा. देवी नेपाल, समालोचक प्रभाती किरण, कवि–गजलकार रवि प्राञ्जल, साहित्यकार राधेश्याम मूल्मी, डा. रमेश पोखरेल, प्राचार्य रमेश पाण्डे, राधा कँडेल, रश्मि असफल, रविका भण्डारी, जनकराज पौड्याल, ज्ञानु विद्रोहीलगायत साहित्यकार र गजलप्रेमीहरूको उल्लेखनीय सहभागिता थियो।
प्रमुख अतिथि घिमिरेले नेपाली गजलको उत्थानमा मोती मण्डली पछि अनाम मण्डलीको योगदान प्रशंसनीय रहेको बताए।
उनले भने, ‘मलाई गेय गजल विशेष प्रिय छ। विमोचित दुवै कृतिमा गेयता मिसिएको पाउँदा निकै हर्ष लागेको छ।’
समीक्षक प्रभाती किरणले दुवै कृतिमाथि टिप्पणी प्रस्तुत गर्दै विभोर बरालका गजललाई ‘नरिवल जस्तै बाहिर कठोर तर भित्री अर्थमा संवेदनशील’ भएको बताए।

बरालका गजलमा नेपाली लोकलयको सशक्त प्रयोग र विषयगत विविधता रहेको उनले औंल्याए। त्यस्तै सप्रेम अर्चनाका गजललाई उनले ‘नौनी जस्तै सरल, सुबोध्य र मिठासपूर्ण’ ठहर गर्दै शृङ्गारप्रधान भावनासहित मुखरत–गैरमुखरत दुवै प्रकारका गजल रहेको उल्लेख गरे।
अर्चनाका कतिपय गजलमा बारम्बार देखिने ‘विभोर’ शब्दलाई जीवनसाथीप्रतिको भावनात्मक विम्बका रूपमा पनि व्याख्या गर्न सकिने उनको टिप्पणी थियो। समारोह साहित्यिक मात्र नभई सङ्गीतमय पनि बन्यो।

डा. रमेश पोखरेलले दुवै गजलसङ्ग्रहबाट नौवटा गजललाई गाएर श्रोतालाई मन्त्रमुग्ध बनाए। उनको प्रस्तुतिमा तबलामा अनन्त प्रजापती, गिटारमा सञ्जु शाही र बाँसुरीमा विष्णुदेवले साथ दिएका थिए। त्यसैगरी राधा कँडेल, रश्मि असफल र रविका भण्डारीले अर्चनाका गजलहरूलाई तरन्नुमशैलीमा प्रस्तुत गर्दा सभाभरि उत्साह र रसिलो लय गुन्जिएको थियो।
गजलकार अर्चना र विभोरले आफ्नै कृतिबाट वाचन गर्दा उपस्थित साहित्यप्रेमीले ताली बजाएर स्वागत गरेका थिए। गजल लेखनमा करिब दुई दशकदेखि सक्रिय अर्चना र बराल नेपाली गजलसाहित्यमा स्थापित नाम मानिन्छन्।
उनीहरूको सिर्जनाले युवा पुस्तालाई गजलमा आकर्षित गर्ने र साहित्यलाई नवीन दृष्टिकोण दिने अपेक्षा गरिएको छ। मोतीराम भट्टको स्मृतिदिवसमा सम्पन्न यो विमोचन समारोह साहित्यिक सिर्जना, गायन र समालोचनाको संगम बनेर नेपाली गजलसाहित्यमा नयाँ चेतना भर्ने महत्वपूर्ण गतिविधि बनेको सहभागीहरूले बताएका छन्।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































