
चितवन- पत्रकार बसन्त पराजुलीद्वारा लिखित उपन्यास ‘बखान’को कार्यक्रमकाबीच विमोचन गरिएको छ । उपन्यासका मुख्य पात्र बखानसिंह गुरुङ्ले स्थापना गरेको बखान बहुउद्देश्यीय सहकारी संस्थामा बखानको विमोचन गरिएको हो ।
बागमती प्रदेश सरकारकी सहकारी तथा गरिबी निवारणमन्त्री बिनु रायमाझी पौडेलले आइतबार उपन्यासको विमोचन गरेकी हुन् । देशकै पहिलो सहकारी स्थापना गरेका राजनैतिक र सामाजिक व्यक्तित्व बखानसिंह गुरुङ्लाई मुख्य पात्र बनाइएको उपन्यास महत्वपूर्ण रहेको उनले बताइन् ।
यसले सहकारीलाईसमेत राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा चिनाउन सहयोग पुग्ने उनको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले पराजुलीद्वारा लिखित उपन्यासले बखानसिंह गुरुङको उच्च योगदानलाई इतिहासमा सजिव बनाएको बताए। उनले भने “ओझेलमा परेका एक महत्वपूर्ण व्यक्तिलाई पराजुलीले उजागर गर्ने काम गर्नुभएको छ ।”
विसं २०३९ मा कानुन तथा न्याय र भूमिसुधारमन्त्री बनेका बखानसिंह गुरुङ्का दुई छोरा सहिद हुन् । सो अवसरमा गुरुङ्का नाति चन्द्रध्वज गुरुङ्ले बाजे बखानसिंह गुरुङ्को राजनैतिक यात्रा र सँगै परिवारले भोगेका पीडाका बारेमा बोलेका थिए। संस्थाका अध्यक्ष देवी थापा मगरको सभापतित्वमा भएको कार्यक्रममा सहकारीका प्रमुख सल्लाहाकार एवं नेपाली कांग्रेस चितवनका पूर्व सभापति तोपमानसिंह गुरुङ, बखान सहकारीद्धारा सञ्चालित सङ्ग्रहालयका संयोजक सोम भण्डारी, सहकारीका सञ्चालक रामशरण गैरे लगायतले सहकारीले गर्नुपर्ने काम पराजुलीद्वारा गर्नुभएको जनाउँदै आभार प्रकट गरेका थिए।
पुस्तकका लेखक पराजुलीले उपन्यास यथार्थ घटनामा टेकिएको र काल्पनिक जलप लगाइएको कृति भएको बताए। उनका अनुसार नेपालको तराई क्षेत्रमा भएको बसाइँसराइ र बस्ती विकासको ऐतिहासिक पाटोलाई समेटेर लेखिएको यो बखान पुस्तकले चितवनको सामाजिक तथा राजनीतिक घटनाक्रमलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । यसले विसं २००७ देखि २०१० सालसम्मका मुख्य राजनीतिक घटनाक्रमलाई न्याय दिने प्रयास गरेको पराजुलीले बताए।