
काठमाडौँ– पार्टीभित्र मतभेद बढेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकाएक नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ निवासमै पुगेर भेट गरेका छन्।
सोमबार बिहानीको घामसँगै ९ बजे विप्लव निवास ललितपुरस्थित हरिसद्धि पुगेर प्रचण्डले भेट गरेका थिए।
पार्टीभित्रका प्रभावशाली नेता जनार्दन शर्मा ‘प्रभाकर’सँग मतभेद बढेको समयमा प्रचण्ड विप्लव निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रभाकरले प्रचण्डलाई शेषनागले काँध फेर्दैमा पृथ्वी नहल्लिने सन्देश दिएको दुई दिन भयो। शनिबार काठमाडौँको एक कार्यक्रममा प्रचण्ड लक्षित टिप्पणी गर्दै प्रभाकरले शेषनागले पृथ्वी बोक्ने कुरा दन्तेकथा भइसकेको बताउँदै शेषनाग हल्लिँदा भूकम्प आउँछ भन्ने नसोच्न चेतावनी दिएका थिए।
विप्लव खुला राजनीतिमा (२०७७ फागुन २१ गते) आएको पाँच वर्षसम्म विप्लव–प्रचण्ड भेट प्रचण्ड निवासमा हुने गरेको थियो। जनार्दनको चेतावनीपछि प्रचण्ड एकाएक निवासमै पुगेर विप्लवसँग भेटवार्ता गरेका छन्।
भेट प्रचण्डकै इच्छाअनुसार भएको हो।
के भयो भेटमा?
बिहान ९ बजे हरिसिद्धि पुगेका प्रचण्डलाई विप्लवलगायत नेता कार्यकर्ताले फूलको गुच्छासहित स्वागत गरेका थिए। त्यसपछि करिब एक घण्टा प्रचण्ड र विप्लवबीच कुराकानी भएको थियो।
भेटमा समयसामयिक घटनाका विषयसँगै विशेषत पार्टी एकताका विषयमा छलफल भएको नेकपाका पोलिटव्यूरो सदस्य चन्द्र प्रकाश खड्का ‘असल’ले बताए। उनले भने, ‘उहाँहरूबीच समसामयिक विषयमा र पार्टी एकताका विषयमा पनि छलफल चल्यो।’
उनकाअनुसार दुई नेताबीच नेपालमा सञ्चालित अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)बारे पनि छलफल भएको थियो। नेकपाले एमसिसीलाई राष्ट्रहितविपरीत भन्दै आएको छ। माओवादी केन्द्रभित्र पनि एमसिसीका विषयमा फरक–फरक मत देखिन्छ।
भेटपछि प्रचण्डले विप्लव नेतृत्वले गरेको कृषि खेतीको अवलोकन गरेका थिए। उनले कृषि खेतीको प्रशंसा गरेका थिए।
भेटको सन्देश के?
पार्टीभित्र मतभेद देखिएको समयमा प्रचण्ड विप्लवसँग उनकै निवासमा गएर भेट गर्नु र पार्टी एकतासम्मको छलफल गर्नु आफैमा अर्थपूर्ण छ।
विप्लवसँग एकता गर्ने तयारी भएको लामो समय हुँदा पनि प्रचण्ड एकता गर्न सफल भएका छैनन्। यो भेटले अब के एकताको सम्भावना बढेको हो? माओवादी सचिव देवेन्द्र पौडेल त्यसै देख्छन्।
‘भेटले एकताको सम्भावना बढाएको छ। लाग्छ छिट्टै विप्लवसँग एकता हुन्छ’, उनले भने। पौडेलले विप्लवसँग एकता वर्षदिन अघि नै भइसक्ने सम्भावना देख्छन्।
माओवादीले साउन १९ गते सम्पन्न भएको स्थायी समिति बैठकबाट विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय गरेको थियो। तर नेकपाले माओवादीसँग एकताको सम्भावना टरेको निष्कर्ष निकालेपछि।
०८१ को बैशाखमै नेकपाले माओवादीसँग एकता गर्ने निर्णय गरे पनि माओवादी नेतृत्वले कुनै वास्ता नगर्दा ०८१ पुसमा माओवादीसँग एकताको सम्भावना टरेको फेरि नेकपाले निष्कर्ष निकालेको थियो।
विप्लवसँग एकता गर्ने वा नगर्ने भन्नेमा माओवादीभित्रसमेत दुई धार देखिन्छ। विशेष गरेर विप्लवलाई भित्र्याएपछि उनको व्यवस्थापनको विषयलाई लिएर माओवादी तत्काल एकता गर्ने अवस्थामा छैन।
एकताको पक्षमा देखिएपनि माओवादी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’समूह विप्लवको नेतृत्वलाई लिएर अलि बढी सशंकित भएको माओवादीभित्र देखिएको छ। विप्लवलाई यतिसम्म कि माओवादीको महासचिवसम्म बनाउन प्रचण्ड तयार रहेको तर प्रभावकर उक्त विषयमा सन्तुष्ट नदेखिएको माओवादी नेताहरू बताउँने गर्छन्।
अहिले जनार्दनसँग दूरी बढिरहेको समयमा प्रचण्ड–विप्लव भेटले जनार्दनलाई तर्साउन प्रचण्ड यस प्रकारको ताचुर्यता देखाएको हुन सक्ने नेकपाका नेताहरू आशंका व्यक्त गर्छन्।
‘हाम्रो महासचिव (विप्लव)सँग भेट हुनु र पार्टी एकतासम्मको कुरा हुनु सकारात्मक छ। तर उहाँ (प्रचण्ड)को पार्टीभित्र मतभेद पनि बढिरहेको समयमा एकता छिट्टै भइहाल्छ भन्ने सम्भावना पनि कम छ’, नेकपाका एक नेताले भने।
नेकपाका पोलिटव्यूरो सदस्य असलले प्रचण्डलाई नेतृत्व मानेरै एकता हुने विषय कम रहेको बताउँछन्। ‘निष्कलङ्क भनेको विप्लव नै हो। प्रचण्ड नै भनेर हामीले एकता गर्ने होइन’, उनले भने।
उनी माओवादीसँग पुरानै दृष्टिकोण अनुसार एकता नहुने पनि बताउँछन्। ‘हामी र माओवादीबीच मै सैद्धान्तिकरुपमै मतभिन्नता छ’, असलले भने ‘त्यसैले नयाँ दृष्टिकोणसहित एकता हुने भयो भने हामी (माओवादी–नेकपा)बीच एकता हुन्छ। होइन भने पुरानै दृष्टिकोणअनुसार एकता हुने होइन।’
माओवादीसँग कसरी एकता गर्ने भन्ने विषय नेकपाको यही भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकबाट टुङ्गो लगाउन तयारी गरेको छ।