
झापा – पूर्वराजा ज्ञानेन्द्र शाह १० दिनको बसाइँका लागि आज झापा आइपुगेका छन्।
पूर्वराजा शाह, पूर्वरानी कोमल शाह र छोरी प्रेरणा शाहसहितको ६ सदस्यीय टोली आज दिउँसो १२ः४५ बजे बुद्ध एयरको नियमित उडानबाट भद्रपुर विमानस्थल ओर्लिएको हो।
उनीहरूलाई भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको नेतृत्वमा रहेको टोलीले स्वागत गरेको थियो।
स्वागत गर्नेहरूमा नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जितबहादुर अर्जेल, पूर्वमन्त्री बद्रीप्रसाद मण्डललगायतका व्यक्तिहरू थिए।
विमानस्थलमा स्वागतपछि शाह दमक–९ मा रहेको हिमालयन महालक्ष्मी टी इस्टेटस्थित मिनी दरबारतर्फ प्रस्थान गरेका छन्।
उनको सवारीका लागि विभिन्न नम्बरका आठवटा गाडी प्रयोग गरिएको थियो, जसमा बा २१ च ७३१८ नम्बरको मुख्य गाडी समावेश थियो।
यसअघि, पूर्वराजा ज्ञानेन्द्र शाह गत जेठ महिनाको दोस्रो साता पनि झापा आएका थिए। त्यतिबेला उनी करिब १५ दिन बसेका थिए।