
हुम्ला – कानुनले बिहेबारी बीस वर्षपछि गर्नुपर्ने ब्यवस्था गरे पनि हिमाली जिल्ला हुम्लामा बीस वर्ष नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको छ। पछिल्ला वर्षमा समेत बालविवाहबिरुद्ध चर्को आवाज उठे पनि १५ देखि १९ वर्षको उमेरमा बिबाह गर्ने कार्य नरोकिएका कारण उमेर नपुग्दै आमा बन्ने महिलाको सङ्ख्या बढ्दै गएको हो।
चङ्खेली गाउँपालिका– ६ को मेल्छाम स्वास्थ्य चौकीका संयोजक हर्क बुढाले पाँच दिनअगाडि मात्र उक्त वडाकी १९ वर्षकी सदीक्षा शाहीलाई प्रसूति गृहमा ल्याएर सुत्केरी गराउनुपरेको बताए। शाहीले प्रसूति गृहमा पाँच दशमलव तीन किलोग्रामको शिशु जन्माएकी थिइन्।
बीस वर्षमुनिका गर्भवती महिला हरेक दुई महिनामा एक जना सुत्केरी गराउन प्रसूतिगृहमा ल्याउने गरिएको भन्दै उनले पछिल्लो समय यो सङ्ख्या बृद्धि भएको बताए।
कानुनले बालविवाहलाई वर्जित गरे पनि ब्यबहारमा भने कार्यान्वयन हुन सकेको छैन। तीन दिनअघि मात्र सेही गाउँपालिकी १७ वर्षकी बालिकाले मृत्यु भएका जुम्ल्याहा शिशु जन्माएकी थिइन्।
यता, ताँजाकोट गाउँपालिका स्वास्थ्य शाखाले उमेर नपुगी बिबाह गर्ने चलन नरोकिएको कारण पन्द्रदेखि उन्नाईस वर्षको उमेरमा गर्भवती हुने महिलाको संङ्ख्यामा कमी नभएको जनाएको छ। दुई महिनाअगाडि मात्र सत्र वर्षको उमेरमा एक जना गर्भवती महिलालाई सुत्केरी गराउन सफल भएको र यो समस्यालाई समाधान गर्न कठिन भएको शाखाले जनाएको छ।
गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुमा वर्षमा चारदेखि पाँच जना गर्भवती महिला बीस वर्ष कम उमेरका महिलाहरुलाई सुत्केरी गर्ने गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयकी बरिष्ठ अनमी सरिता बोहराले वर्षमा पन्द्रदेखि बीस जना गर्भवती जिल्ला अस्पतालको प्रसूति गृहमा सुत्केरी गराउन ल्याउने गरिएको बताईन।
यो अस्पतालको सङ्ख्या भएको र जिल्लाभरको संङ्ख्या जोड्दा अवस्था गम्भीर देखिने बताउदै उनले विद्यालयमा कक्षा नौ दशमा अध्ययन गर्ने छात्राहरु पनि सुत्केरी हुन गरेको बताईन। यस्ता उमेरकी गर्भवतीलाई सुत्केरी गरााउन पनि कठिन हुने गरेको बताउदै उनले उमेर नपुगी बिबाह गर्ने चलन बिरुद्ध उजुरी गर्ने कार्य हुन नसकेको कारण कानुन कार्यान्वयन फितलो देखिएको बताईन।
सुत्केरी गराउन ल्याएकी गर्भवतीलाई आफुहरुको धर्म सफल रुपमा सुत्केरी गराउनु रहेको बताउदै स्थानीय स्तरबाटै यो समस्या समाधानको उपाय अवलम्बन गर्नु आवश्यक रहेको जनाकारी दिईन। बालबिबाह गरेको कुनै उजुरी नै आउने नगरेको र कतैबाट जानकारी समेत नआएपछि कारवाही गर्न समस्या भएको प्रहरीले जनाएको छ।