
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले चीनबाट ६ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छान्। ट्रम्पले अमेरिकामा चिनियाँ विद्यार्थीहरूको उपस्थिति महत्त्वपूर्ण रहेको बताएका हुन्।
उनले भने, ‘हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिने छैनौँ भन्ने म धेरै अफवाह सुन्छु। तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ। यो धेरै महत्त्वपूर्ण छ– ६ लाख विद्यार्थी। यो ठूलो कुरा हो।’
चीनसँग राम्रो सम्बन्ध कायम हुनेमा आफू विश्वस्त रहेको उनले बताए।
‘हामी चीनबाट भन्सार शुल्क र अन्य कारणले धेरै पैसा सङ्कलन गरिरहेका छौँ। तर हामी चीनसँग राम्रो गर्नेछौँ,’ ट्रम्पले भने।
उनका अनुसार अहिलेको चीनसँगको आर्थिक सम्बन्ध अघिल्लो बाइडेन प्रशासनको तुलनामा धेरै बलियो छ।
यस वर्षको सुरुमा अमेरिकी प्रशासनले सबै चिनियाँ सामानमा एक सय ४५ प्रतिशत कर लगाएको थियो। यसको जवाफी कदमस्वरूप बेइजिङले अमेरिकी निर्यातमा एक सय २५ प्रतिशत कर लगाएको थियो।
जेनेभामा मे महिनामा वार्ताकारहरूले अतिरिक्त करहरू रोकिने सहमति गरेका थिए, तर ट्रम्पले अझै थप दण्डको चेतावनी दिन छाडेका छैनन्।
गत हप्ता मात्रै उनले चिनियाँ निर्मित म्याग्नेटमा दुई सय प्रतिशत कर लगाउने घोषणा गरेका थिए। म्याग्नेटलाई उनले विश्व बजारमा बेइजिङको ‘एकाधिकार’ को रूपमा चित्रण गरेका थिए।
‘यसमा कुनै समस्या आउँछ भन्ने मलाई लाग्दैन,’ ट्रम्पले पत्रकारहरूसँग भने, ‘चीनले बुद्धिमानीपूर्वक विश्वको म्याग्नेट बजारमा एकाधिकार बनाएको छ। तिनीहरूलाई पाउन सम्भवतः हामीलाई एक वर्ष लाग्न सक्छ।’
हाल करिब २ लाख ७० हजार चिनियाँ विद्यार्थी अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गरिरहेको बताइएको छ।