देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीसँग गायक तथा संगीतकार शिशिर योगीलाई निम्त्याएका छौँ। उनले सहकर्मीहरूका विभिन्न जिज्ञासाहरूको खुलेर जवाफ दिएका छन्।
उनले गाएको चर्चित गीत ‘यो देशमा म एउटा मानिस खोजिरहेछु’ अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउँछन् योगी।
आफूले आमाकै गर्भदेखि संगीत सिकेको उनी बताउँछन्। ‘आमाले मलाई गर्भमै छँदा गीत गाएर फकाउनुहुन्थ्यो रे,’ उनी भन्छन्, ‘सायद म संगीत गर्नकै लागि जन्मिएँ।’
एसएलसीलगत्तै संगीतकार अम्बर गुरुङलाई भेट्न र उनीलाई गुरु थाप्न उनी काठमाडौँ आएका थिए। घरमा कसैलाई नभनी खल्ती करिब ३ सय रुपैयाँ बोकेर उनी काठमाडौँका लागि दाङबाट साझाबस चढेका थिए।
पहिलोपटक अम्बर गुरुङलाई भेटेको क्षण अहिले पनि आफ्नो लागि अविस्मरणीय रहेको उनी बताउँछन्। ‘उहाँले त्यत्तिखेर भनेका शब्द र प्रेरणाले अहिलेसम्म पनि मलाई छोइरहन्छ,’ उनले भने, ‘उहाँले फलामको च्यूराभन्दा कडा च्यूरा चपाउनुपर्छ संगीत सिक्दा भन्नुभयो, मैले पनि हुन्छ भनेँ।’
काठमाडौँमा संघर्षका थुप्रै कथाहरू छन् योगीका। ‘एकपटक घरबेटीले भाडा नतिर्दा मेरो हार्मोनियम नै लगिदिए पछि भाडा तिरेर मैले बल्लबल्ल हार्मोनियम फिर्ता लिएको थिएँ,’ उनले भने।
चौतारीका क्रममा योगीले आफ्ना लोकप्रिय गीतहरू पनि सुनाए। ‘मलाई आफ्नो कुरा गीतमार्फत नै भन्न सजिलो लाग्छ,’ उनले भने। आफूलाई माधव घिमिरे र कमलमणि दीक्षितले पनि धेरै सहयोग गरेको उनी सम्झन्छन्। पहिलो गीत रेकर्ड गर्ने क्रममा सञ्चारकर्मी कनकमणि दीक्षितले आफूलाई सहयोग गरेको पनि सम्झन्छन् उनी। माधव घिमिरेको ‘सारंगी त रेटे पनि’ लगायत थुप्रै गहन गीतहरू उनले गाउने मौका पाए। कुनै समय श्रीमतीको सुनको सिक्री बेचेर पनि आफूले गीत रेकर्ड गरेको उनी सम्झन्छन्।
राजदरबार हत्याकाण्डपछि क्षेत्रप्रताप अधिकारीले लेखेको ‘चौतारीको बरै ढल्यो’ गीत गाउँदा पनि आफूले सन्तुष्टि पाएको उनी बताउँछन्। पछिल्लो समय आफू बाहिरी यात्रा छाडेर भित्री यात्रामा अघि बढ्न थालेको पनि सुनाउँछन् उनी।
उनीसँग गरिएको देशसञ्चार चौतारीको पूरा भाग: