
झापा- झापाको कन्काई नगरपालिका-८, विरिङ पुलमा मंगलबार भएको सवारी दुर्घटनामा एकजनाको ज्यान गएको छ भने चारजना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय, बिर्तामोडका अनुसार राति ८:४० बजे पूर्वपश्चिम राजमार्गमा दुईवटा सवारी साधन एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे १ च ५४४६ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट गइरहेको मे १ च ३४४० नम्बरको मारुती भ्यान ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका मारुती भ्यानका चालक शिवसताक्षी–७ का २९ वर्षीय नवराज बाँस्कोटालाई तत्काल उद्धार गरी बीएन्डसी अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।
सोही भ्यानमा सवार पुनमदेवी साह (३७), उनका छोरा प्रसन्न साह (१४) र छोरी प्रन्सा साह (९) तथा सोही ठाउँका पृथ्वीनाथ साह (४०) घाइते भएका छन् । घाइते चारैजनाको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनापछि पिकअप चालक धनकुटा, महालक्ष्मी–८ का २४ वर्षीय सुमन पौडेल र दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।