
काठमाडौँ- आज देशभर विघ्नहर्ता भगवान् गणेशको पूजा-आराधना गरी गणेश चतुर्थी पर्व मनाइँदै छ ।
अग्रपूजाको अधिकार प्राप्त गरेका भगवान् गणेशको जन्मोत्सव मनाउन देशभरका गणेश मन्दिरहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनहरूको बाक्लो भीड लागेको छ ।
प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्थीका दिन मनाइने यो पर्व सत्ययुगमा यसै दिन भगवान् गणेशको जन्म भएको शास्त्रीय मान्यतामा आधारित छ ।
यसै अवसरमा आज काठमाडौँ उपत्यकाका प्रसिद्ध गणेश मन्दिरहरू अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक र कमलादी गणेश लगायत देशभरका सबै गणेश मन्दिरहरूमा विशेष पूजा-आराधनासहित गणेश जन्मोत्सव मनाइएको छ ।
शिव र पार्वतीका पुत्र गणेशलाई जुनसुकै धार्मिक कर्म गर्नुअघि अग्रपूजाको अधिकार प्राप्त छ । धार्मिक मान्यताअनुसार, आज हरितालिका तीजको व्रत सम्पन्न गरी गणेशको व्रत गर्ने विधान रहेको छ ।
भाद्र शुक्ल तृतीयाका दिन सुखद दाम्पत्य जीवन र सुख-शान्तिको कामना गर्दै व्रत बस्ने व्रतालुहरूले चतुर्थीका दिन जीवनमा कुनै पनि विघ्न-बाधा नआओस् भनी कामना गर्दै गणेश पूजा गर्ने विधान गणेश पुराणमा उल्लेख छ ।
भक्तपुरको सूर्यविनायक मन्दिरमा श्रद्धालुहरूको भीड लागेको छ।
तस्बिरहरूः