
भक्तपुरको सूर्यविनायक नगरपालिकाले ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय स्तरको फुटबल रङ्गशाला निर्माणका लागि करिब २०० रोपनी जग्गा उपलब्ध गराउने सहमति भएको छ। नगरपालिकाले उपलब्ध गराउने जग्जा एन्फामार्फत राष्ट्रिय खेलकुद परिषद्लाइ सिफारिस गरेको छ।
नगरपालिकाको वडा नम्बर ८ मा पर्ने सो जग्गा उपलब्ध गराउने विषयमा नगरप्रमुख बासु थापाले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) महासचिव किरण राईलाई सैद्धान्तिक सहमति गरेका हुन् ।
एन्फाले नयाँ तथा आधुनिक रङ्गशाला निर्माण गर्ने प्रस्तावसहित पटक–पटक प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दै आग्रह गर्दै आएको थियो। त्यसअनुसार सरकारको पहलमा रङ्गशाला निर्माणका लागि नगरपालिकाले सैद्धान्तिक सहमति जनाएको हो। प्रधानमन्त्री ओलीले यसअघि सार्वजनिक रूपमा झण्डै ५० हजार दर्शक क्षमता हुने नयाँ रङ्गशाला निर्माण गर्ने घोषणा पनि गरेका थिए।
रङ्गशाला निर्माण योजनालाइ प्रधानमन्त्रीले चासोका साथ हेरेका थिए। युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एन्फाले प्रधानमन्त्रीको घोषणा अनुसार प्रकृयागत रुपमा संस्थागतरुपमा समन्वयकारी भूमिका खेलेका थिए। निर्माण हुने रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको आधुनिक फुटबल स्टेडियमका रूपमा विकास गरिने एन्फाले जनाएको छ।