
काठमाडौँ- समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँको गीतामाता माध्यमिक विद्यालयमा डेङ्गु सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
सामुदायिक सेवा मञ्च र सामुदायिक प्रहरी सेवा केन्द्र स्वयम्भू तथा त्रिभुवन विश्वविद्यालय प्राकृतिक विज्ञान सङ्ग्रहालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम बुधबार सञ्चालन भएको हो ।
विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा प्राध्यापक डा. रुथ मुलर (इन्स्टिच्युट अफ ट्रपिकल मेडिसिन, बेल्जियम), डा. मेघनाथ धिमाल (वरिष्ठ अनुसन्धान अधिकृत, नेपाल स्वास्थ्य अनुसन्धान परिषद्) र इटालीका पत्रकार युरी सागालेर्बाको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, सामुदायिक सेवा मञ्च स्वयम्भूका संस्थापक अध्यक्ष हरि खरेल र पूर्वअध्यक्ष अमिन पाण्डेयलगायतको पनि कार्यक्रममा सहभागिता थियो ।
कार्यक्रममा प्राकृतिक विज्ञान सङ्ग्रहालय स्वयम्भूका एसोसिएट प्रोफेसर डा. इशान गौतमले विद्यार्थी तथा शिक्षक/शिक्षिकालाई डेङ्गु रोगबाट बच्ने उपायहरू र यसबाट बच्न अपनाउनुपर्ने सावधानीबारे विस्तृत जानकारी दिएका थिए ।
डा. गौतमले काठमाडौँमा डेङ्गु सार्ने लामखुट्टे पत्ता लगाउने काममा महत्वपूर्ण योगदान दिएका थिए ।
सामुदायिक सेवामा अग्रस्थानमा रहेका यी संस्थाहरूले विगतदेखि नै समाजका लागि यस्ता महत्वपूर्ण कार्यक्रमहरू सञ्चालन गर्दै आएका छन् ।