
इन्जुरीबाट मैदान फर्किएका लियोनेल मेसीले पुन एकपटक इन्टरमियामीका लागि उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई फाइनलमा पुर्याएका छन्। बिहीबार बिहान भएको खेलमा मेसीले २ गोल गर्दा मियामीले अर्लान्डो सिटी विरुद्ध ३-१ को पुनरागमन जित सहित फाइनलमा स्थान बनायो।
अर्लान्डोले पहिलो हाफमा १-० को अग्रता बनाएपनि दोस्रो हाफमा टोली १० खेलाडीमा समेटिएको थियो। उसका लागि पहिलो हाफको इन्जुरी समयमा मार्को पासालिकले गोल गरे। मियामिका डिफेन्डर फाल्कनले क्लियर गर्न प्रयास गरेको बल पासालिकको अघि पर्दा उनले ‘लेफ्ट फुटेड सट’ प्रहार गर्दै बललाइ जाली चुमाएका थिए।
तर इन्टर मियामी दोस्रो हाफमा खेलमा फर्कियो। खेलको ७७ औं मिनेटमा जोर्डी अल्बाले बक्सभित्र क्रस गर्दै दिएको आकर्षक पासमा अल्लेन्डेलाई ब्रेकालोले फाउल गर्न पुग्दा रेफ्रीले मियामीलाइ पेनाल्टी दिएका थिए। ब्रेका दोस्रो पहेंलो कार्डका कारण मैदानबाट बाहिरिन पुगेका थिए। यहि पेनाल्टीको अवसरमा लियोनेल मेसीले टिमलाई बराबरीमा ल्याए। उनले दायाँतर्फ आकर्षक सट प्रहार गर्दै टिमलाइ बराबरीमा ल्याए।
त्यसपछि पनि मेसीको जादु कायम रह्यो। उनले ८८ औं मिनेटमा बक्सभित्र अल्बासँगको ‘वान–टु’ पासमा आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको इन्जुरी समयमा सेगोभियाले मेसीकै मुभमेन्टमा गोल गर्दै ओर्लान्डो सिटीको सम्भावना अन्त्य गरिदिए।