धनगढी- सुदूरपश्चिम प्रदेशमा आजबाट विधिवत् रूपमा गाैरा पर्व सुरु भएको छ । पर्वकाे पहिलो दिन आज महिलाले पाँच प्रकारका अन्न–गेडागुडी (बिरुडा) भिजाउने परम्परा भएकाले यस दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ।
सुदूरपश्चिमेलीहरूको महान चाड गौरापर्वको पहिलो अर्थात आज ‘बिरूडा पञ्चमी’ । आजको दिन पाँचथरी गेडागुडी (गहत,गहुँ,केराउ, मास र गुराँस)आदिलाई सङ्कलन गरि बिधिवत् कर्मकाण्ड बिधि र ‘फाग’, ‘माङल’ गाउँदै गौरापूजनका लागि प्रयोग हुने अक्षता र प्रसादस्वरूप संकलित ‘बिरूडा’ लाई एउटा पवित्र ताम्रपत्र, पित्तल वा उपलब्ध भाँडामा एकसाथ मिलाई मांगलिक पूजाआजाका साथ यहाँका ब्रतालु महिलाहरूबाट बिरूडा भिजाउने काम सम्पन्न हुदैछ।
पौराणिक कालमा हिमालयपुत्री पार्वतीले महादेवलाई पति पाउँ भनि बालुवाको शिवलिङ्ग बनाइ १२ वर्षसम्म गरेको कष्टसाध्य तपस्यापश्चात् वरदान पाइ महादेव अर्थात् शिवलाई पति बनाउन सफल भएको धार्मिक मान्यता अनुसार गौरापर्व मनाइदै आएको सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपती डा. टिएन जाेशीले बताए।
भगवान शिव र पार्वतीको पूजा आराधना एबम् ब्रत अनुष्ठानबाट सुस्वास्थ्य एबम् शौभाग्य र समृद्धि प्राप्त हुन्छ भन्ने विश्वास रहँदै आएको उनकाे भनाइ छ । गाैराबारे जानकार खगेश्वरी साउदका अनुसार पुत्रदा एकादशीको व्रतपछि भदौको बिरुडा पञ्चमीबाट गौरा पर्व औपचारिक रूपमा प्रारम्भ हुन्छ।
यस पर्वमा महिलाले एक महिनाअघि देखि शुद्ध शाकाहार र ब्रह्मचर्यको पालना गर्ने गर्छन्। पुरुषको व्रतबन्ध झैं महिलाले यस दिन दुवधागो (यज्ञोपवित) लगाउने चलन छ।
गौरा पूजाअर्चनाबाट श्रीमान् तथा परिवारजन निरोगी, दीर्घायु हुने र घरमा सुख–समृद्धि बढ्ने विश्वास गरिन्छ। आजदेखि गाउँगाउँमा देउडा खेल्ने प्रचलन पनि सुरु हुन्छ। प्राचीनकालदेखि पर्वतराज हिमालयकी पुत्री पार्वतीलाई भगवान् शिवकी अर्धाङ्गिनीका रूपमा गौरा देवी मानेर पूजाआर्चना गर्ने परम्परा रहिआएको छ ।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































