
जनकपुरधाम – मधेस प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामा नआएसम्म प्रदेशसभा बैठक चल्न नदिने प्रतिपक्षी दलका सांसदहरुले अडान लिएका छन्।
बिहीबार बसेको छैटौँ अधिवेशनको पहिलो बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएपछि बैठक शुक्रबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख रामचन्द्र मण्डलले प्रतिपक्षीको विरोधपछि बैठक स्थगित गरेका हुन्।
जनता समाजवादी पार्टी, नेपालका प्रमुख सचेतक रामअशिष यादवले अर्थमन्त्रीले राजीनामा नदिएसम्म आफूहरुले बैठक अवरुद्ध गरिरहने सभामुखलाई जानकारी गराए।
बैठक सुरु हुनेबितिकै प्रतिपक्षी दलका सांसदहरुले उभिएर विरोध जनाएका थिए।
प्रमुख सचेतक यादवले सरकारले ४६१ पेजको रेडबुक सार्वजनिक गरेको र २९४ पेजको रेडबुक लुकाएको बताए। प्रतिपक्षीको बहिष्कारको बीच बजेट पारित गरेकोमा उनले आपत्ति जनाए।
उनले भने, ‘यो बजेटमा कन्या छात्रावासलाई २० वर्ष पुरानो भुक्तानी दिन बजेट राखिएको छ। कार्यदलमा अल्पमत बहुमत हुँदैन, कार्यदलमा २९४ पेज पत्ता लाग्यो र त्यो पेजलाई हटाउन भन्यो तर त्यस्तो गरिएन।’