
हुम्ला – कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा अंगुर लटरम्म फलेको छ। दुई वर्ष अगाडीबाट थोरै मात्रामा फल्ने गरेको अङ्गुरको बोट यस पटक भने लटरम्मै फलेको हो।
यस पटक आफ्नो बारीमा लगाएको अङ्गुर लटरम्मै फलेको सिमकोट गाउँपालिका– ५ का गगन रोकायाले बताए। सात वर्ष अगाडी परिक्षणका रुपमा लगाएको अङ्गुरको बोटले दुई वर्ष अगाडीदेखि थोरै फल दिन सुरु गरेपनि यसवर्ष भने राम्रो फलेको बताउदै अब हिमालमा पनि अङ्गुर खेतीको संभावना देखिएको छ। पन्द्र मिटर लम्बाईमा लहरा फैलिएको छ र बोट जरा माथिदेखि टुप्पादेखि माथिल्लो भागसम्म फल लागेको छ।
यस पटक पचासदेखि साठी केजी अङ्गुर एउटै बोटबाट फल्ने देखिएको बताउदै उनले फल पनि पाक्ने अबस्थामा रहेको बताए। हाल हिमाली क्षेत्रमा फल्ने अङ्गुर सिटलेस जाति रहेको र यो दुई हजार एक सयदेखि दुई हजार दुई सय मिटर उचाईसम्म उक्त प्रजातिको अङ्गुर राम्रो फलेको छ। रोकायाको बारीमा फलेको उक्त अङ्गुरको बोट लगाएको स्थान तीन हजार पैतालीस मिटर उचाई रहेको छ।
मौसममा आएको परिवर्तनका कारण उक्त उचाईमा पनि अङ्गुर फलेको हुन सक्ने उनको भनाई छ। यो उचाईमा फल्ने अङ्गुरमा भित्र बिया पनि हुने र स्वाद भने केही टर्रो हुने उनले बताए। यति अग्लो उचाईमा अङ्गुर फल्न थालेपछि सदरमुकाम सिमकोटको उचाई भन्दा तलको उचाई सवै खेतीका लागि संभावना देखिएको छ। पछिल्लो समय हुम्लामा नयाँ फलफुल र तरकारी फल्न सुरु भएको छ।