
हुम्ला – संगठन बलियो बनाउन महिलालाई सशक्त बनाउनुपर्ने एमाले केन्द्रीय सदस्य एवं कर्णाली प्रदेश सरकारका पूर्व सामाजिकमन्त्री दलबहादुर रावलले बताएका छन्। एमाले भ्रातृ संगठन अखिल नेपाल महिला संघको चौथो जिल्ला सम्मेलनको उद्घाटन सत्रलाई शुभकामना दिँदै उनले सो कुरा बताएका हुन्।
एमालेका सवै भन्दा बढी सदस्यहरु रहेको अखिल नेपाल महिला संघमा आबद्ध रहेका महिला सदस्यहरुलाई सशक्त, जुझारु र सकृय बनाउन सके एमालेलाई कसैले परास्त गर्न नसक्ने उनले बताए।
आधा आकाश ढाकेको महिलाई परिवर्तनको बाहकका रुपमा पनि हेर्नुपर्ने बताउँदै उनले महिला संघलाई बलियो बनाउने कुरामा पार्टीले विशेष ध्यान दिने बताए। देशमा ठूला परिवर्तन महिला आन्दोलनले गर्दा सफल भएको उदाहरण धेरै भएकाले हुम्ला जिल्ला–जिल्लामा भई रहेका विकृति र विसंगति हटाउन पनि महिला जाग्नुपर्ने उनले बताए।
अब अखिल नेपाल महिला संघ एक घर एक महिला सदस्य अभियान सञ्चालन गरेर हुम्लामा एमालेलाई पहिलो पार्टी बनाउन आवश्यक रहेको उनले बताए। सम्मेलनका उद्घाटन सत्रमा एमाले अध्यक्ष ज्ञानी बुमी, उपाध्यक्ष प्रकाशबहादुर शही, सचिव तीर्थराज बोहरा, वरिष्ठ नेता, लोकबहादुर हमाल, संस्थापक सदस्य प्रेमबहादुर बुढा, उपसचिव प्रदिप लामा, एमाले कर्णाली प्रदेश कमिटी सदस्य जसु परियार, महिला संघकी केन्द्रीय सदस्य याङजुम रोकायालगायतले शुभकामना दिएका थिए। यो सम्मेलनबाट नयाँ कार्यसमिति समेत चयन हुनेछ। संघको हालको अध्यक्षमा मन्जु रावल रहेकी छन्।