
जनकपुरधाम – प्रतिपक्षी दलहरूले अवरोध गरेपछि मधेस प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।
अर्थमन्त्री सुनिलकुमार यादवको राजीनामाको माग गर्दै प्रतिपक्षी दलहरुले बैठक अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।
माओवादी केन्द्रका प्रदेशसभा सदस्य जवाहरलाल कुशवाहाले अर्थमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताए। कुशवाहाले बजेटमा विचौलिया हाबी भएको, सशर्त अनुदानमा समेत अनियमितता भएको आरोप लगाए।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य कुमरकान्त झाले भने विपक्षीहरूले समस्या समाधान गर्न नचाहेको आरोप लगाए।आफ्नो क्षेत्रको समस्या राख्ने ठाउँ प्रदेश सभा भएकोले बैठक अवरुद्ध गर्नु उचित नभएको उनको भनाइ थियो।
उनले भने, ‘सर्वदलीय बैठकमा आउनु हुँदैन। अर्थमन्त्रीले राजीनामा गर्दैन। किन गर्छ राजीनामा? सर्वदलीय बैठकमा छलफल गर्नुस्।’
आज बिहान प्रदेश सभाको अवरोध हटाउन सभामुख मण्डलले सर्वदलीय बैठक बोलाए पनि प्रतिपक्षी दलहरु अनुपस्थित भएका थिए।