
हुम्ला – महिला स्वास्थ्य स्वयंसेविकालाई अभद्र व्यवहार गरेको आरोपमा तीन जना पक्राउ परेका छन्। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय हुम्लामार्फत जिल्ला सरकारी वकिल कार्यालय हुम्ला हुँदै जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरिएको हो।
पीडितबाट अभद्र व्यवहारको जाहेरी जिल्ला प्रहरी कार्यालय हुम्लामा दर्ता भइ जिल्ला प्रशासन कार्यालय हुम्लाबाट सात दिनको म्याद थप गरी अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासदमा राख्न अनुमित प्रदान भएको छ। जिल्ला प्रहरी कार्यालय हुम्लाले यो सात दिनको अवधीमा थप अनुसन्धान गरी जिल्ला प्रशासन कार्यालय हुम्ला पेश गर्ने हुम्ला जिल्ला प्रहरी प्रमुख शंकर पोखरेलले बताएका छन्।
मिडियामा आयजस्तो पीडितलाई जवरजस्ती करणी उद्योग नभएको र पीडितले अभद्र व्यवहार भएको जाहेरी दिएकाले सोहीअनुसार अनुसन्धान भइरहेको उनले बताए। जिल्ला प्रशासन कार्यालय हुम्लाबाट म्याद थप गरिएका व्यक्तीहरुमा ताँजाकोट गाउँपालिका मैला वडा नं ३ मा स्थापित मैला स्वास्थ्य चौकी इन्चार्ज लिलाराज शर्मा, एम्बुलेन्स चालक मंगल शाही र कार्यालय सहयोगी रामबहादुर बुढा छन्।
मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा(१) बमोजिम कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न कानुनी अधिकार नभएको ठाउँमा प्रवेश गरी कसैलाई अभद्र व्यवहार गर्न वा सार्वजनिक स्थानमा महिला, बालबालिका वा शारीरिक रुपमा अशक्त व्यक्तिलाई हातपात वा हैरानी गर्न वा त्यसको उद्योग गर्न हुँदैन भनिएको छ।
यदि कसैले सो विपरीत व्यवहार गरेमा मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को उपदफा २ बमोजिम १ वर्षसम्म कैद वा दस हजार रुपैंया जरिबाना वा दुवै सजाय हुने कानूनी व्यवस्था रहेको छ।