देउडाका गीतमा मौलिकता हराउँदै

देउडाका गीतमा मौलिकता हराउँदै
+
-

कञ्चनपुर – सुदूरपश्चिमको मौलिक सांस्कृतिक पहिचानका रुपमा रहेको देउडा गीत र खेलमा पछिल्लो समय मौलिकपन हराउँदै गएको छ।

देउडा संस्कृतिमा पुराना भाकाको नक्कल बढ्नु र समाजलाई अपाच्य हुने शब्द प्रयोग हुन थालेपछि यसको मौलिकता खस्किँदै गएको हो। वरिष्ठ देउडीया (देउडा सर्जक) अम्वादत्त जोशीका अनुसार पहिलेका देउडाका गीतमा साहित्य मिसिएको हुन्थ्यो। सुन्ने मात्र होइन समाजमा सकारात्मक सन्देश दिने खालका भाकाहरु गुञ्जिन्थे।

“सुखदुःखका कथाहरु, वीर वीरंगनाका गाथा, धार्मिक चिनारी र संस्कृतिको भाव भूमि बोकेको देउडा अहिले भड्किलोपनमा गएको छ”, उहाँ भन्नुहुन्छ। विशेष गरी गौराजस्ता महत्त्वपूर्ण पर्वका बेला देउडा खेल्नका लागि भेला हुने प्रचलन पुरानै रहेको उनी बताउँछन्।

“वर्षौँसम्म नदेखिएका आफन्त र साथीहरू देउडा खलोमा भेटघाट गर्ने, भलाकुसारी गर्ने कार्यले त्यो बेला बेग्लै रौनक दिन्थ्यो, भाका–भाकामा मायाप्रेम मिसिने तर ती समाजलाई पच्ने खालका हुन्थे”, जोशी भन्छन्। तर अहिलेको परिवेशमा युट्युब र सामाजिक सञ्जालका कारण देउडाका गीतहरूमा अश्लील शब्द, अपाच्य वाक्यांश र मनोरञ्जन मात्र दिने खालका प्रस्तुति बढी देखिन थालेको उनको भनाइ छ। “यी गीतले एक पटक सुन्दा रमाइलो लाग्छ तर दीर्घकालीन प्रभाव राख्न सक्दैनन”, उनले भने।

देउडा खेलमा पुराना भाका तोडमोड गरेर बीचमा अश्लील शब्द राख्ने प्रवृत्ति मौलिक सम्पदा मास्ने मुख्य कारण भएको देउडाका जानकार शेरबहादुर भण्डारी बताउँछन्।

पुराना सिर्जनामा आधारित भएर मात्रै नयाँ गीत नबनाई मौलिकपन कायम गर्ने खालका गीत आउनुपर्नेमा उनी जोड दिन्छन्। “समाजका चालचलन, रहनसहन, रीतिरिवाजलाई प्रतिबिम्बित गर्ने गरी नयाँ भाका सिर्जना गर्नुपर्छ,” उनले भने, “युट्युबमा भ्यूज र पैसाका लागि अर्थविहीन देउडा गीत बनाउने क्रम बढ्दा मौलिक सृजनाको क्षय भइरहेको छ।”

पुराना सर्जकहरूको योगदानलाई सम्मान गर्ने परिपाटीको विकास गर्नुपर्नेमा उहाँ जोड दिनु हुन्छ। युवा पुस्ताको रुचिअनुसार केही परिमार्जन हुनुपर्ने भए पनि पुराना भाकालाई बेवास्ता गर्नु गलत हुने उनको बुझाइ छ। “बजारमा आउन थालेका रयाप र पपमा समेत सुदूरको भाका झल्किने गीतहरु राख्नु पर्छ तर रितिरिवाज, चालचलन र संस्कृति भित्र अटाउने कुराहरु सभ्य तरिकाले राखिनुपर्छ,” उनी भन्छन्।

देउडीया डिल्लीराज पनेरूका अनुसार पहिलेका गीतहरू रसिला, भावपूर्ण र अर्थपूर्ण हुन्थे। “सुन्नेले आनन्द लिने, पछि–पछिसम्म सम्झिरहने गीत अहिले हराएका छन्”, उनले भने। हालका गीतमा भाव र गहिराई कम देखिन्छ, मनोरञ्जन त दिन्छन् तर स्थायी प्रभाव छोड्ने खालका नरहेको उनी बताउँछन्।

उनका अनुसार गाउँवेसीमा गाइने तर अझै प्रकाशमा नआएका पुराना भाकाको खोजी गरी सङ्कलन गर्न सके देउडाको मौलिकता जोगाउन सकिन्छ। अहिले बजारमा भीडभाड बढाउने र हँसाउने खालका गीत बढे पुराना शैलीमा देउडा भेट्न कठिन भएको उनको अनुभव छ। “युवा पुस्ताले पुराना भाका मन नपराउँदा ती भाका ओझेलमा पर्न थालेका छन्”, उनी भन्छन्, “त्यसैले मौलिकता जगेर्ना, नयाँ पुस्तालाई सिकाउने र देउडालाई सांस्कृतिक सम्पदाका रुपमा संरक्षण गर्नु आवश्यक छ।”

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?