
काठमाडौँ – भुटानमा जारी यु-१७ महिला साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ। शुक्रबार भएको खेलमा नेपालमाथि ५-० को एकतर्फी जित निकाल्दै भारत अन्तिम खेलअगावै च्याम्पियन बनेको हो।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतले नेपालसँगको दोस्रो लेगमा पनि एकपक्षीय जित निकाल्यो। यसअघि पहिलो लेगमा पनि नेपाल ७-० ले पराजित भएको थियो। भारतले यसअघि सन् २०१८ र ०१९ मा लगातार दुईपल्ट उपाधि जितेको थियो।
अपराजित रहेको भारतले ५ खेलबाट १५ अंक पुर्याएको छ। दोस्रो स्थानमा रहेको बंगलादेशको समान खेलबाट १० अंक छ। अब अन्तिम खेलमा भारत र बंगलादेश भिड्ने छन्। तर, उक्त खेल जिते पनि बंगलादेशले भारतलाई भेटाउने छैन।
बंगलादेशको सम्भावित उपाधि आशा आजै भएको खेलमा भुटानसँगको बराबरीले रोकिदिएको थियो। बंगलादेशले पहिलो पटक भुटानसँग १-१ गोलको बराबरी खेल्यो। यो बराबरीले नै बंगलादेशलाई अन्तिम खेल अगाडि नै उपाधि विमुख बनाइदिएको थियो।
नेपालले भने अन्तिम खेलमा भुटानसँग खेल्ने छ। नेपालको ५ खेलबाट ३ र भुटानको समान खेलबाट १ अंक छ। दुवै टोली उपाधि अभियानमा दुई खेल बाँकी हुँदै बाहिरिसकेका थिए।