मान्छेले निलिरहेछ ‘मान्छे’को ज्यान

मान्छेले निलिरहेछ ‘मान्छे’को ज्यान
+
-

काठमाडौँ – उमेर ३० वर्ष। साथमा दुई वर्षीय छोरा। डेरामा जीवन चलाउँदै गरेकी रुबीकुमारी साहको ‘ज्यान’ उनकै पूर्वप्रेमीले निलिदिएको ठ्याक्कै हप्ता दिन भयो।

रौतहटको गौर नगरपालिका–२ मा डेरामा बस्दै आएकी रुबीको पूर्वप्रेमी लक्ष्मण पासवानले शनिबार (भदौ ७ गते) प्राण लिए। तीज (भदौ १० मा तीज)को रमझम नजिएकैबेला सजिन ब्यूटीपार्लर गएकी रुबीलाई पासवानले आफ्नै कोठामा लिए। विवाद गरे। घाँटी थिचेर ज्यान लिए।

अनि स्वास नभएको त्यही ज्यानलाई सुटकेसभित्र राखे र फालिदिए सडकको एक छेउमा।

रुबीको शव शनिबार राति गौर–९ मुडवालगेटस्थित सडकमा भेटिएको थियो। आफैले ज्यान लिएको स्वीकारेका पासवानको पनि बुधबार कीर्तिपुरको बर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भयो। आत्मदाहका लागि शरीरमा आगो लगाएको अवस्थामा उनी बुधबार बिहान फेला परेका थिए।

रुबीको हत्या प्रकरण अरुको ज्यान लिन कसैलाई कति सहज भइदिएको छ भन्ने ताजा उदाहरण मात्र हो। प्राणीजगतको जीवनरक्षाको वकालत चर्को भइसकेको छ। प्राणीलाई कुट्नु, मार्नु कुनै समय सामान्य थियो। बाघको शिकार गर्नु त प्रतिष्ठाको विषय नै थियो।

आज बलीप्रथामाथि समेत प्रश्न छ। घरबाहिर भेटिने प्राणी हुन् वा घरभित्र संरक्षण गरिएका प्राणी तिनीहरूमाथि अत्याचार गर्नु कानुनको भागिदार हुनु हो।

तर यहाँ मान्छेले मान्छेको ‘ज्यान’ भने सहजै लिइरहेको छ, दैनिक। कानुनत: यो कार्य अपराध हो। अरुको ज्यान लिनु जन्मकैद जीवन बिताउनु हो।

तथ्याङ्कमा यस विषयलाई हेर्दा अझ झस्काउँछ।

वर्षदिनमा ३६५ दिन हुन्छ। गएको आर्थिक वर्ष २०८१/८२ मा ५२२ जनाको ‘ज्यान’ यसैगरी मान्छेले लियो। यो पछिल्लो अपराधको घटेको तथ्याङ्क हो। यसअघिका वर्षमा अझ धेरैको संख्यामा प्राण लिइएको छ।

यही तथ्याङ्कले पनि दिनमा करिब दुई जनाको ज्यान लिएको देखाएको छ।

पछिल्लो पाँच वर्षको तथ्याङ्कमा देशको अपराधको चित्र उचारचढावको छ। आर्थिक वर्ष ०८०/८१ मा ६३८ जना, २०७९/८० मा ५२२ जना, ०७८/७९ मा ६१२ जना र पाँच वर्षअघि ०७७/७८ मा ७०७ जनाको ज्यान मान्छेले लियो।

अपराधमा कोशी अगाडि, बालबालिकाको पनि लिइन्छ ‘ज्यान’


मान्छेको प्राण लिनेमा कोशी प्रदेश अगाडि रहेको छ। नेपाल प्रहरी केन्द्रीय कार्यालयका अनुसार पाँच वर्ष (आव २०७७/७८ देखि ०८१/८२ सम्म)मा सबैभन्दा धेरै कोशी प्रदेशमा ६१३ जनाको प्राण लिइएको छ।

त्यसपछि सीमाना जोडिएको मधेस प्रदेश पनि अपराधमा अगाडि छ। यस प्रदेशमा विगतको पाँच वर्षमा ५८८ जनाको प्राण लिइएको छ। लुम्बिनी प्रदेश अपराधमा तेस्रो स्थानमा छ। पाँच वर्षमा यस प्रदेशमा ५३९ जनाको प्राण लिइएको छ।

यस्तै, बागमती प्रदेशमा विगत पाँच वर्षमा २९८, सुदूरपश्चिममा २९५, गण्डकीमा २२६, कर्णालीमा २०७ र काठमाडौँ उपत्यका २५३ जनाको ज्यान लिइएको छ।

ज्यान गुमाउनेमा बालबालिको संख्या पनि कम छैन। विगत पाँच वर्षमा ३ हजार १ जनाको ज्यान लिइएकोमा ३१५ जना बालबालिका हुन्। जसमा बालक १९० जना रहेका छन् भने १२५ जना बालिका छन्।

यस्तै, विगत पाँच वर्षमा १ हजार ६५७ पुरुष र ९८७ जना महिलाको ज्यान लिइएको छ।

आफन्तैले लिन्छन् ‘ज्यान’


ज्यान लिने घटनामा आफन्तको संलग्नता नै एकतिहाइ देखिएको छ। प्रहरीले रेकर्ड गरेको तथ्याङ्कअनुसार विगत पाँच वर्षमा ३ हजार १ जनाको ज्यान लिइएकोमा आफन्तहरूले नै १ हजार १७७ जनाको ज्यान लिएका छन्।

आर्थिक वर्षअनुसार गएको आव २०८१/८२ मा ५२२ जनाको ‘ज्यान’ लिइएकोमा २०७ जनाको आफन्तले नै लिए।  यसैगरी आव ०८०/८१ मा ६३८ जनाको ज्यान लिएकोमा आफन्तैबाट २१५ जना, २०७९/८० मा ५२२ जनाको ज्यान लिइएकोमा २१७ जनाको आफन्तबाटै लिइएको छ।

यसैगरी आव ०७८/७९ मा ६१२ जनाको ज्यान लिइएकोमा आफन्तबाटै २६१ र आव ०७७/७८ मा ७०७ जनाको ज्यान लिइएकोमा २८० जनाको ज्यान आफन्तबाटै लिइएको प्रहरी तथ्याङ्कमा छ।

‘ज्यान’ लिनेमा पति र छोराछोरी अगाडि, धर्म बाबुआमा देखिए दयालु


‘अपराध’ सामान्य कुरा होइन। सामान्य मान्छेले पनि गर्ने होइन। मनोविद्हरू असामान्य अवस्थामा पुगेका व्यक्तिले मात्र अपराध गर्ने तर्क गर्छन्। जुन प्रहरी तथ्याङ्ले देखाउँछ।

तथ्याङ्कअनुसार श्रीमान्‌ले श्रीमतीको ज्यान लिएको छ। श्रीमतिले श्रीमान्‌को ज्यान लिएको छ।

आफ्नै कोखबाट जन्मिएका छोराछोरीले आमाबुबाको ज्यान लिएका छन्। आफैले जन्माएका छोराछोरीको आमाबुबाले ज्यान लिएका छन्।

आफन्तभित्र आफन्तले ज्यान लिने घटना यी प्रमुख हुन्।

बढी श्रीमान्‌ले श्रीमतीको ज्यान लिने गरेको प्रहरी तथ्याङ्क छ। आव २०८१/८२ मा श्रीमान्‌ले ६९ जना श्रीमतीको ज्यान लिए। यही आवमा श्रीमतीले १६ जना श्रीमान्‌को ज्यान लिएका छन्।

यसैगरी आव ०८०/८१ मा श्रीमान्‌ले ९० जना श्रीमतीको ज्यान लिँदा श्रीमतीले १२ जना श्रीमान्‌को ज्यान लिएका छन्। आव ०७९/८० मा पनि श्रीमान्‌ले ९० जना श्रीमतीको ज्यान लिँदा श्रीमतीले १६ जना श्रीमान्‌को ज्यान लिए।

यस्तै, आव ०७८/७९ मा श्रीमान्‌ले ९७ जना श्रीमतीको ज्यान लिँदा श्रीमतीले २९ जना, आव ०७७/७८ मा श्रीमान्‌ले ११४ जना श्रीमतीको ज्यान लिँदा श्रीमतीले २० जना श्रीमान्‌को ज्यान लिएको तथ्याङ्क छ।

माथिको विवरणअनुसार पछिल्लो समय श्रीमतीले श्रीमान्‌को ज्यान लिने घटना पनि बढिरहेको छ।

आव २०८१/८२ मा विगत पाँच वर्ष (आव २०७७/७८ देखि आव ०८१/८२सम्म)मा आफन्तभित्र १ हजार १८० जनाको ज्यान आफन्तभित्रैकाले लिएकोमा श्रीमान्‌ले श्रीमतीको ज्यान लिएको पहिलो स्थानमा छ। जुन पाँच वर्षमा ४६० जना श्रीमतीको श्रीमान्‌ले ज्यान लिएका छन्।

आफन्तभित्र ज्यान लिने घटनामा छोराले आमाबुबाको ज्यान लिएको घटना दोस्रो स्थानमा छ। पाँच वर्षमा छोराले १४३ जना आमाबाबुको ज्यान लिएका छन्।

यस्तै, आमाबाबुले ६३ जना छोराछोरीको ज्यान लिँदा छोरा बुहारीले १२ जना आमाबाबुको ज्यान लिएका छन्।

पाँच वर्षमा छोरीले १२ जना नै आमा, बाबु, सासु, ससुराको ज्यान लिएका छन्। यसैगरी आमाले ३१ जना नवजात शिशुको, आमाले २८ जना छोरा/छोरीको, सौतेनी आमा र बाबुले ८ जना छोराछोरीको ज्यान लिएका छन्।

आफन्तले ५ जना ज्वाइँ जेठानको, बाबुले २० जना छोराछोरीको, मामाले ८ जना भान्जाभान्जीको, भान्जाले ७ जना मामाको, काकाकाकीले १६ जना भतिज भजितीको, दाजुले ४५ जना भाइबहिनीको, भाइले ३३ जना दाइ/दिदी/बहिनीको ज्यान लिएका छन्।

यसैगरी पाँच वर्षमा दिदीभिनाजुले २ जना भाइबहिनी/सालोसालीको, बहिनीले १ जना दाइको, भतिजले २१ जना काका/काकी र आफन्तको, भतिजीले ७ जना काका/काकी र आफन्तको, जेठाजुजेठानीले १६ जना भाइबुहारीको, बुहारीले २० जना सासु, ससुरा, जेठानी, देउरानीको ज्यान लिएका छन्।

देवरले २१ जना भाउजुको, दाजुभाउजुले ४ जना भाइबहिनीको, छोरीज्वाइँले २ जना ससुराको, हजुरबा हजुरआमाले ५ जना नातीनातिनाको, नातीनातिनाले १५ जना हजुरबा हजुरआमाको, नन्दले १ जना भाउजुको, सालाले ७ जना भिनाजुको, भिनाजुले ७ जना सालासालीको ज्यान लिएका छन्।

यस्तै, अमाजुले १ जना बुहारीको, सासु सुसुराले १९ जना ज्वाइँ, छोरोबुहारीको, सौताले ९ जना सौताको, भाउजुले ३ जना देवरको ज्यान लिएका छन्।

आफन्तभित्र नाता पर्नेमा धर्म बाबुआमाले बितेको पाँच वर्षमा एक जना पनि छोराछोरीको ज्यान नलिएको प्रहरीले रेकर्डले देखाउँछ।

नेपाल प्रहरीका केन्द्रीय कार्यालयका प्रवक्ता एवम् प्रहरी नायव महानिरीक्षक विनोद घिमिरे ज्यान लिनेसम्मको घटना सामान्य विवादबाट सुरु हुने बताउँछन्।

‘ज्यानै लिनेसम्मको घटना पहिले त त्यही सामान्य घटनाबाटै सुरु भएको देखिन्छ। पछि ठूलो रुप भयो भने ज्यानै लिनेसम्म हुने गरेको छ’, घिमिरेले भने।

पछिल्लो समय आर्थिक कारबारमा कुरा नमिल्दा बढी यस्ता ज्यानै लिनेसम्मको घटना हुने गरेको उनी बताउँछन्। ‘मान्छे अपराध गर्ने अवस्थमा पुग्ने विभिन्न कारण छन्’, उनले भने, ‘पछिल्लो समय आर्थिक कारण बढी देखिएको छ।’

प्रहरी अनुसन्धानमा हत्या हुनुका पछाडि आर्थिक कारोबार, गरिबी, अवैध सम्बन्ध, आर्थिक संकट, मादकपदार्थ सेवन, बेरोजगारीलगायत कारण देखिन्छन्।

प्रवक्ता घिमिरे सचेतना अझै बढाउन सकियो भने अपराधका घटना कम हुने देख्छन्। ‘हामीले पनि अपराधसम्बन्धि सचेतना कार्यक्रम समुदायस्तरमै पुगेर गर्ने गरेका छौँ। त्यसको प्रभाव केही देखिएको छ। अपराध घटेको छ’, उनले भने।

अपराध गरेपछि ९० प्रतिशत मान्छे अपराधप्रति पश्चाताप गर्ने गरेको पनि घिमिरे बताउँछन्।

कुनै व्यक्ति कसैको ज्याननै लिने स्थितिमा पुग्नुलाई मनोविद्हरू अन्तिम अवस्थाको मानसिक समस्याका रुपमा लिन्छन्। ‘सबैले गम्भीर प्रकृतिको घटना गर्न सक्दैन। मानसिक स्वास्थ्यसँग पनि जोडिएको हुन सक्छ। असामान्य स्वास्थ्य अवस्थामा यस्ता घटना घट्ने गर्छन्’, मनोविद् गोपाल ढकाल भन्छन्।

–यो पनि

मायाको आवरणमा किन बढ्दै छ ‘अपराध’को चक्र?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?