कर्णाली– विद्युतीय चुरोट (भेप) तस्करी आरोपमा राजस्व अनुसन्धान विभागले छानबिन अघि बढाएपछि डिभिजन वन कार्यालय हुम्लाका निमित्त वन अधिकृत लोकजंग शाही ‘फरार’ भएको भन्ने सम्बन्धमा हुम्ला प्रहरीले अनभिज्ञता जनाएको छ।
डिभिजन वन कार्यालय हुम्लाबाट पाँच हजार केजी सेतक चिनी उल्लेख गरेर बाँकेको नेपालगञ्जका लागि जाँचपास गरिएको कन्टेनरमा तस्करीका ३९ हजार ९ सय थान भेप फेला परेपछि कर्मचारी शंकाको घेरामा राखिएको थियो।
अन अधिकृत शाही फरार भन्ने कुरा प्रहरीलाई जिल्लामा कुनै जानकारी नआएको प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए। माथिबाट के भएको हो, त्यो कुरा मिडियामा आएपछि थाहा पाएको तर अन्य कुनै जानकारी नभएको उनले बताए।
अधिकृत शाही जिल्लाबाहिर गएको भन्ने जानकारी भएको र त्योबाहेक अन्य केही थाहा नभएको उनले बताए। यो कुरा बाहिरिएपछि डिभिजन वन कार्यालयका कर्मचारी घेरामा तानिएका थिए।
त्यसपछि विभागले अनुसन्धान सुरु गरेको थियो। तस्करीको भेप नेपाल–चीन सीमा क्षेत्र हुम्लाकै नाम्खा गाउँपालिका हुँदै भित्रिएको र त्यही सेतक चिनीका मालिक कुन्साङ दोर्जी लामा पनि फरार भएका छन्।
अनुसन्धानका लागि विभागले दुवै जनालाई उपस्थित गराउन पत्र पठाएको थियो। अहिले संलग्न व्यक्तिको खोजी कार्य जारी छ। कैलाश–ईश्वर जडीबुटी खरिद–बिक्री केन्द्रका सञ्चालक लामाले हुम्लाको सर्मथान राष्ट्रिय वनबाट संकलन गरी नाम्खा गाउँपालिका–१ मा घाटगद्दी गरिएको सेतक चिनी भन्दै गत ३ भदौमा ५ हजार केजी जडीबुटी नेपालगञ्जसम्म लैजान अनुमतिपत्रका लागि निवेदन दिएका थिए।
त्यसको पर्सिपल्ट ५ भदौमा वन कर्यालयले सेतक चिनी लैजान हुम्लादेखि नेपालगन्जसम्मका रुटमा पर्ने जिल्ला तथा इलाका हुँदै जान अनुमति दिएको थियो।
त्यसपछि वनकै दुई कर्मचारी सन्तोष खत्री र कृष्णबहादुर हमालले नेपालगन्जसम्म पुग्ने रुट उल्लेख गरेर जाँचपास पत्र जारी गरेका थिए। यसको सूचना विभागलाई गइसकेको थियो।
विभागले यसमा निगरानी बढाउन सुराकी परिचालन गरेको थियो भने अर्कातिर जाँचपास गरिएको कन्टेनर ७ भदौमा लामाले हुम्लाकै सिमकोटका २७ वर्षीय छिरिङ लामा तथा मुगुका ३२ वर्षीय जनक रोकाय र २७ वर्षीय भूमि रोकायसहित नेपालगन्ज तर्फ पठाएका थिए। भूमि कन्टेनरका चालक हुन्। जनक र छिरिङ जडीबुटी मालिक लामाका सहयोगी हुन् ।
तीनै जना जाँचपास गरिएको कन्टेनर लिएर बाँकेतर्फ प्रस्थान गरेकामा त्यसको पिछा गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) सादा पोसाकका टोलीमार्फत राजस्वले पिछा गराएको थियो। त्यही क्रममा सशस्त्र प्रहरीको टोलीले दैलेखको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको सुरक्षार्थ तैनाथ सशस्त्रको टोलीले खिड्की जिउलाबाट कन्टेनर र त्यसमा रहेका तीनै जनालाई नियन्त्रणमा लिएको थियो।
त्यसपछि राजस्वलाई पक्राउ परेका व्यक्ति र कन्टेनरलाई नेपालगञ्जतर्फ लैजाने क्रममा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका अन्तर्गत राजमार्ग क्षेत्रमै पर्ने बांगे सीमलमा सशस्त्रको टोलीले कन्टेनर राजस्वको जिम्मा लगाएको थियो।
सशस्त्रले कन्टेनर नियन्त्रणमा लिएको जानकारीपछि राजस्वको कोहलपुर कार्यालयका कर्मचारी सुर्खेत प्रस्थान गरेकामा बांगेसिमल पुगेपछि कन्टेनर जिम्मा लिएका थिए।
त्यसपछि राजस्वले सशस्त्रको सुरक्षामा कन्टेनर कोहलपुर कार्यालय पु¥याएर खोल्दा ईएलएफबीएआर ब्रान्डका ३९ हजार ९ सय थान तस्करीका भेप र २ हजार ४ सय ६ केजी सेतक चिनी भेटिएको थियो।
वनले जाँचपासका क्रममा कन्टेनरमा ५ हजार केजी जडीबुटी उल्लेख गरेपछि आधाभन्दा कम परिमाणमा सेतक चिनी माथिल्लो भाग र त्यसभन्दा मुनी तस्करीमा भेप राखेर पठाएको भेटियो।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































