
अस्कर अन्तर्राष्ट्रिय कलेजले आयोजना गरेको तेश्रो युवा लघु सिनेमा प्रतियोगिताको प्रथम पुरस्कार उज्जवल श्रेष्ठको ‘ईग्लू’ सिनेमाले प्राप्त गरेको छ।
नगद एक लाख रुपैयाँ पाएको यो सिनेमाले लाघु औषधमा फसेकी बहिनी र उसको दाजुबिचको सम्बन्धलाई कसरी एक स्वैरकाल्पनिक पात्रले बाटो देखाउँछ भन्ने कथा पेश गर्छ।
काठमाडौँको सुकेधारास्थित कलेजकै ‘साधना घर’ प्रेक्षालयमा सम्पन्न उत्कृष्ट दश सिनेमाको प्रदर्शनी तथा पुरस्कार घोषण एवम् वितरण कार्यक्रमा निर्णायकहरू शवनम मुखिया, सुजित बिडारी र नविन चौहानले विजेताहरू घोषणा गरेका थिए। दोश्रो पुरस्कार सफल रेग्मीको ‘उल्झन’ले पाएको थियो भने तेश्रो पुरस्कार विप्लव विश्वासको ‘सकर-बकर’ले पाएको थियो। उल्झनले प्रविधिका कारण भूलवश ऐठन खेपिरहेको जोडी र सकर-बकरले प्रयोगवादी शैलीमा कथा भनेको थियो।
जुरी पुरस्कार मिङ्ला लिम्बुको ‘खेने नु आङ्गा’ले पाएको थियो जसले कवितात्मक ढङ्गले दुई युवतीको सम्बन्धको कथा पेश गरेको थियो। दोश्रोले पचास हजार रुपैयाँ तथा तेश्रोले ने। रू। पच्चीस हजार रकम प्राप्त गरेका थिए। जुरी पुरस्कार सहित सबै विजयीहरूले यदि कलेज भर्ना हुन चाहेको खण्डमा कलेजले पचार प्रतिशत छात्रवृत्ती प्रदान गर्ने आयोजकले जनाएको छ।
२० वर्षमुनिका प्रतिभाहरूलाई पहिचान गर्ने उद्देश्यका साथ सुरूवात भएको यस प्रतियोगितामा प्रत्येक वर्ष सहभागी युवा सिनेमाकर्मीहरूको संख्या बढेर यस वर्ष ४० भन्दा बढिले सिनेमा बुझाएको र तीमध्ये २१ जनाका सिनेमा प्रतियोगिताको लागि योग्य ठहरिएको कलेजको दावी छ।