
कवि शम्भु राईको कविता संग्रह ‘आदर्श पहाड’ शनिवार कालिकास्थानस्थित सर्वनाम थिएटरमा विमोचन भएको छ।
कवि, गीतकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, कवि तथा गीतकार श्रवण मुकारुङ, कवि रिमा केसी, भाषाविद् डाक्टर तारामणी राई र लेखक कवि शम्भु राईले संयुक्त विमोचन गरेका हुन्।
विगत एक दशकदेखि अमेरिका बस्दै आएका कवि शम्भुको कविता संग्रह ‘आदर्श पहाड’ले नेपाली पहाडिया जीवनशैलीतिर फर्काउन कोसिस गरेको बताए कुलपति भुपाल राइले। उनले भने, ‘पहाड त हाम्रो सौन्दर्यचेतसँगै गासिएको छ। र नेपाली जुन कुनामा पुगे पनि सौन्दर्यचेत र अवचेतन मनले पहाड खोजिरहँदोरहेछ र शम्भुका कविताले पनि पहाड वा गाउँ फर्काउन अनुरोध गरेका छन्।’
सरलताको पक्षपताी र जनताको आवाज बोल्ने कवि लेखकलाई अघिल्ला पुस्ताको स्रष्टाले ससँगसँगै लिएर हिँड्नु पर्ने बताए कवि गीतकार श्रवण मुकारुङले। ‘जुन कविले समाज र भुइँमान्छेको आवाज बोल्छन् ती कवि र कवितालाई प्रोत्सहान गर्नु पर्छ,’कवि मुकारुङले भने, ‘आदर्श पहाडमा गाउँको सुगन्धले भरिएका सरल कविता छन्।’
कवि रिमा केसीले आदर्श पहाडभित्रका कवितामा मौलिक बिम्बमार्फत प्रवासमा बसेकालाई घर फर्किन अनुरोध गरेको बताइन्। ‘रैथाने शब्दलाई चोटिलो बिम्बमार्फत स्वदेशबाहिर बसेका नेपालीलाई पहाड स्मरण गराउन सफल छन् कवि,’ कवि केसीले भनिन्।
डाक्टर तारामणी राईले अमेरिकाको व्यस्त जीवनशैलीका बाबजुद पनि कविता लेख्ने डायस्पोरा साहित्यमा कवि शम्भु राई पनि थपिएकाे बताए।
अमेरिकाकाे न्युयाेर्कमा बस्दै आएका राईकाे पहिलाे कविता संग्रह हाे। आदर्श पहाडलाई इन्डिगाे इन्कले प्रकाशनमा ल्याएकाे हाे ।