
काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वीकारोक्ति छ– ‘प्रचण्ड अब ‘प्रचण्ड’ रहेन।’ अनि त आफ्नै नाम लिँदै भन्छन्– ‘प्रचण्ड त…।’
शनिबार (भदौ १४ गते) दलित मुक्ति मोर्चाद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा प्रचण्डले पहिलेका चुनावताकाको दिन सम्झिए। अनि अहिलेका चुनावताकाको दिन पनि सम्झिए।
र उनले स्वीकारे– ‘म चुनावमा भोट हाल्न जाँदा जनमुक्ति सेनाका दुई वटा गाडी अघि पछि राखेर जाने त्यो बेलाको प्रचण्ड भनेपछि मान्छेले कस्तो बुझ्थ्यो। अहिले त…छैन।’
सायद प्रचण्डले २०६४ सालको चुनावताका दिन सम्झिएको हुनुपर्छ। जतिबेला उनले १० वर्षे युद्ध रोकेर संसद्को यात्रा तय गरेका थिए। र चुनावमा सहभागी हुँदा जनमुक्ति सेनाले सुरक्षा दिन्थे।
त्यसैबेला त हो प्रचण्ड नेतृत्वको माओवादी संसद्को पहिलो दल बनेको। प्रचण्ड प्रधानमन्त्री पनि। २०६४ पछि पनि उनी दुई पटक प्रधानमन्त्री त भए तर दल कहिल्यै पहिलो भएन।
०७०, ०७४ र ०७९ मा भएको निर्वाचनले माओवादीको क्षयीकरणको मापन गरिरहेको छ। अनि तीन दशकदेखि माओवादी नेतृत्व नछाडेका प्रचण्ड कहिले ०६४ साल फर्काउने सपना देख्छन् र भन्छन्– ‘अब माओवादीलाई पहिलो शक्ति बनाउनुपर्छ।’ अनि कहिले सडक आन्दोलनको पनि सपना देख्छन्। उसैगरी भन्छन्– ‘अब फेरि आन्दोलन गर्ने हो।’
शनिबार नेताकार्यकर्ताहरूलाई फेरि एकपटक जेलनेल भोग्न तयार हुन आग्रह गरे। ‘हामी आन्दोलनमा जाने हो। बरु अब एकपटक फेरि जेलनेल, यातना खान पनि तयार हुने अब’, उनको आग्रह थियो।
दलित समुदायले अधिकारका लागि लड्नुपर्नेबेला भएको उनको भनाइ थियो। ‘माथिबाट नियम बनाइदिने नेताहरुले, सदनबाट बल गरेर दलित ऐन बनाइदिने, प्राधिकरण बनाइदिने अनि मुक्ति पाइन्छ भन्न थालियो भने अधिकार पाइँदैन। बनिहाल्यो भने पनि लागु हुँदैन’, सम्झाउने कोशिस थियो प्रचण्डको।
उनले चाडपर्वपछि सडक र सदन दुवै तताउनुपर्ने समय आएको र त्यहीअनुसार तयार रहन पनि भनेका छन्।
हावा खाएको प्रचण्डको ‘उथलपुथल’
२१ फागुन २०८०। राष्ट्रिय सभागृहमा समर्थक भरिभराउ। साथमा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पनि।
कांग्रेससँगको गठबन्धन तोडेर एमालेसँग मिलेको दिन पनि। सहिद प्रतिष्ठान नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रचण्डले भनिदिए– ‘म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ।’
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको एमालेसँगको गठबन्ध तेस्रो पटक थियो। जतिबेला कांग्रेसले प्रचण्डले धोका दिएको आरोप लगाइरहेका थिए।
प्रचण्ड त्यसलाई धोका मान्दैनथे। उनी आफू जमेको पोखरीमा नबस्ने उद्घोष गर्थे। कांग्रेसलाई साथ छाडेर एमालेसँग मिल्नु पनि आफ्नो क्रमभंगता र उथलपुथल भएको प्रचण्डको बुझाइ थियो।3
यो पनिः मैले अर्को उथलपुथल गर्न बेर लाग्दैनः प्रधानमन्त्री दाहाल
कहिले आफ्नो पार्टीसँग ३२ सिट भए पनि उक्त नम्बर जादूयी ‘नम्बर’ भएको बुझाइ पनि प्रचण्डसँग थियो।
तर उनको उथलपुथल र जादूयी नम्बरको बुझाइले भने अहिले हावा खाइरहेको छ। प्रधानमन्त्रीको कुर्सीमा बसेर देशमा उथलपुथल गर्ने इच्छा राखेका प्रचण्ड पाँच महिनामै (२८ असार २०८१) सत्ताच्युत भए।
सत्ताच्युत भए पनि फेरि सत्तामा फर्किने गरी उथलपुथल गर्न प्रचण्डले नचाहेका होइनन्। तर कांग्रेस, एमालेले उनलाई हावा खुवाइरहेका छन्। कांग्रेस–एमालेको सत्ता समीकरण हलचल हुने संकेत देखिएको छैन।
प्रचण्डले सत्ताका लागि मात्र होइन, सडकबाट पनि उथलपुथलको प्रयाससमेत गरिसकेका छन्। त्यो पनि उनी आफैले सोचेजसरी हुन सकेन।
प्रचण्डले १५ चैत्र ०८१ मा काठमाडौँको भृकुटीमण्डमा माओवादी, नेकपा एस, नेकपालगायतको समाजवादी मोर्चाका नामबाट देशभरबाट कार्यक्रता उतारे। भृकुटीमण्डमा कार्यक्रता उतार्नु राजसंस्था पक्षधरको आन्दोलनलाई टक्कर दिनु पनि थियो।
तर त्यसबेलाको प्रदर्शनले प्रचण्डले सोचेजसरी उथलपुथल हुन सकेन। सडक आन्दोलन सोचेजस्तो हुने नदेखेपछि माओवादी ‘जनतासँग माओवादी जागरण अभियान’ लिएर अर्को बाटो खोजेको थियो। जो अहिले पनि जारी छ।
जनतासँग पहिले भएका गल्ती महसुस गर्ने, सच्चिने र सम्बन्ध बढाउने अभियानमा माओवादीले हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्गमा किस्ता–किस्तामा अभियान चलाइरहेको छ।
यो पनि–
नेकपासँग एकता कि पार्टीभित्रको मतभेद मत्थर पार्ने खेल?
‘दुईबुँदे’ले रक्षात्मक बनेको माओवादी: सत्तापक्ष र प्रतिपक्षी दुवैबाट खेदिँदै