
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) सम्मेलनलाई संवोधन गर्दै आतंकवादविरुद्ध सम्पूर्ण मुलुकहरु एकठाउँमा उभिन्नुपर्ने बताएका छन्।
उनले पहलगाम हमला उल्लेख गर्दै आतंकवादविरुद्धको दोहोरो मापदण्ड स्वीकार हुन नसक्ने बताए।
आफ्नो सम्बोधनमा प्रधानमन्त्री मोदीले चीनका राष्ट्रपति सी जिनफिङलाई धन्यवाद दिँदै सहभागी हुन पाउँदा खुसी लागेकव बताए। मोदीले भने,’म एससीओ सम्मेलनमा सहभागी हुन पाउँदा खुशी छु। भव्य स्वागतका लागि राष्ट्रपति सीलाई हार्दिक धन्यवाद दिन चाहन्छु।’
प्रधानमन्त्री मोदीले भारतको एससीओप्रतिको आफ्नै दृष्टिकोण र नीतिका तीन आधारमा रहेको भन्दै भने,’सुरक्षा (सेक्युरिटी), सम्पर्क (कनेक्टिभिटी) र अवसर (अपरच्युनिटी)’ लाई एकसाथ अगाडी बढाउनु पर्ने उनले बताए।
सम्मेलनमा मोदीले पहलगाम आक्रमणको प्रसङ्ग उठाउँदै आतंकवादलाई निशाना बनाए र कठिन घडीमा भारतसँगै उभिएका मित्र राष्ट्रहरूप्रति आभार व्यक्त गरे। उनले पाकिस्तानको नाम नलिएपनि अप्रत्यक्ष रुपमा आलोचना गरेका थिए।
मोदीले भने,’भारत पछिल्ला चार दशकदेखि निर्दयी आतंकवादको पीडामा बाँचेको छ। कति आमाहरूले आफ्ना सन्तान गुमाए, कति बालबालिका अनाथ बने। हालै हामीले पहलगाममा आतंकवादको अत्यन्तै घिनलाग्दो रूप देख्यौँ। यस दुःखद् घडीमा हाम्रो साथमा उभिएका सबै मित्र राष्ट्रहरूलाई म धन्यवाद दिन चाहन्छु।’
प्रधानमन्त्री मोदीले थपे,’यो आक्रमण केवल भारतको अन्तर्आत्मामा लागेको चोट मात्र होइन, मानवतामाथि विश्वास गर्ने प्रत्येक राष्ट्र, प्रत्येक व्यक्तिलाई दिइएको खुला चुनौती हो। यस्तो अवस्थामा स्वाभाविक प्रश्न उठ्छ- के कतिपय मुलुकहरूले आतंकवादलाई खुलेआम समर्थन गर्नु हामीलाई स्वीकार्य हुन सक्छ?’
मोदीले अन्त्यमा आतंकवादबारे कुनै पनि दोहोरो मापदण्ड स्वीकार्य नहुने भन्दै सबै मिलेर आतंकवादका हरेक रूप, हरेक रंगको विरोध गर्नु पर्ने बताए।