
हुम्ला – दुई दिनदेखि अवरुद्ध हुँदै आएको हवाई सेवा सुचारु भएको छ। बिहानैबाट मौसममा सुधार आउँदा हवाई सेवा सुचारु भएको हो।
दुई दिनयता हवाई सेवा अवरुद्ध हुँदै आएकोमा मंगलबार बिहानैबाट सुचारु भएको नागरिक उड्डयन प्राधिकरण सिमकोटका प्रमुख महेन्द्र सिंहले बताए। हवाई सेवा अवरुद्ध हुँदा रोकिएका डेढ सय पर्यटक गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
गत आइतबार रातिबाट सुरु भएको वर्षा नरोकिएका कारण हवाई सेवा पूर्ण रुपमा अवरुद्ध भएको थियो। दुई दिनमा १५ उडान रद्द भएका थिए। मंगलबार बिहान मात्रै पाँँच वटा उडान भएका छन्।
हवाई सेवा अवरुद्ध भएपछि मानसरोवर कैलाशको दर्शन गरी सिमकोट फिर्ता आएका डेढ सय पर्यटकहरु हुम्लामै रोकिनुपरेको थियो।