पेशाले चिकित्सक हुन् नवराज केसी। चिकित्सा सेवामार्फत कर्णालीबासीको मनमा बस्न सफल डा.केसी सुर्खेतको वीरेन्द्रनगरबाट कलम पनि चलाइरहेका छन्। उनको ‘स्वस्पर्श’ नामक पुस्तक यतिखेर चर्चामा छ। अस्पतालभन्दा बाहिर आम मान्छेका लागि कमै चिनिन्छन् डाक्टरहरू तर लेखक डाक्टर केसी लेखेर चिनिए। कलममार्फत चिनिए। उनै केसीले आफ्ना अनुभव देशसञ्चार चौतारीमा साझा गरेका छन्।
कलमको बलले नै समाजमा सकारात्मक ऊर्जा छर्ने कोसिसरत डाक्टर केसी कर्णालीका ती नगन्ने मान्छेका दुःख र अनूभति लेख्छन्, जसको लेखाइले मन ‘चसक्क’ पार्छ । यस्तै किताबमा पर्छ स्वस्पर्श।
कर्णालीका बच्चाले पेटभरि खान पाउँदैनन्। सधैं कुपोषणबाट जुध्नु परेको छ भन्ने भाष्य जसरी निर्माण गरिएको त्यो गलत भएको बताउँछन् डाक्टर केसी। भन्छन्, ‘उसिनेको फर्सी, हरियो मकै, मह, बन तरकारीहरु प्रशस्त पाइन्छ। त्यो धेरै पोषिलो हुन्छ। तर हामीले यस्तो रिपोर्ट तयार पार्यो कि जसले सधैं कर्णाली कुपोषित भइदियो । यो एकदम गलत हो।’
कुपोषणकै कारण बच्चा रोगी हुन पुगेको मान्दैनन् केसी । भन्छन्, ‘बच्चाहरु कमजोर वा कुपोषित हुन पुग्नुको पहिलो कारण आमाहरु रोगी भएर हो। आमाहरुले पोषिलो खान नपाएर हो। आमाहरुको केयर नगरेर हो। कर्णालीका बच्चालाई कुपोषितबाट बचाउनु छ भने पहिला आमाहरुको खानपान र जीवनशैलीमा बदलाव ल्याउन जरुरी छ।’
‘५१ प्रतिशत आमाहरूमा कुपोषण भएकै कारण छोराछोरीमा कुपोषण देखिन्छ। हामीले बच्चाका लागि मात्रै नभएर आमाकै लागि राम्रो खानपान र स्याहारसुसार गर्न सकेनौं,’ केसीले भने।
लेखक केसी आमा अर्थतन्त्रको कुरा पनि जोड्छन्। समग्र नेपाली समाज आज पनि आमाहरुको अर्थतन्त्रले चलेको बताउँछन् । उनी भन्छन्, ‘मान्छेलाई उभोँ लाग्ने बाटो खोल्ने भनेको आमाहरुको पटुकी बैंकले हो। देश नै चलाए सायद आमाहरुको पटुकी बैंकले। आमाले बाँधेको पटुकीको पैसाले म मात्रै पढिन, मेरो बुवा पनि पढ्नु भएको थियो। त्यो पटुकी बैंकको अघि आजको बैंक केही होइन ।’
डाक्टर केसी कृषि प्रधान देशलाई कृषि मन्त्रालयले चलाएको देख्दैनन्। ‘कृषि त ती आमाहरुले बचाइदिए, जो प्रदेशमा गएका छोरा, श्रीमानको अनुपस्थितिमा पनि खेतबारी बाँझो राखेनन्,’ उनले भने, ‘मेरो सन्तान भोको हुन्छ कि भन्ने डरले आमाहरुले खेतीपाती गरिरहनु भयो जसका कारण अन्नको भकारी भरियो ।’
अहिले कर्णाली क्षेत्रमा दिगो विकास र महिलाको सोच्ने चेतनामा फरक ल्याउन सकिने उनको बुझाइ छ। उनी भन्छन्, ‘जबसम्म आमाहरूमा लगानी गर्न सकिँदैन, तबसम्म चेतनाको स्तर बढाउन सकिँदैन। गरिबी निवारण गर्न पनि मुस्किल पर्छ।’
डाक्टर केसी भ्रष्टाचार रोक्नका लागि आमाहरुमा लगानी गर्नु पर्ने बताउँछन् । उनी भन्छन्, ‘भ्रष्टचार पदमा पुगिसकेर गरेको होइन। त्यो त उसको बाल्यकालको हुर्काइसँगै बनेको बानी हो। त्यसैले आमाले बच्चालाई जुन स्वभाव र परिवेशमा हुर्काउँछिन्, बच्चाको बानी पनि त्यस्तै त्यस्तै विकास हुन्छ। जस्तै आमा रोइरोइ हुर्काउँछिन् भने बच्चा पनि रुन्चे हुन्छ।’
सुर्खेतको हिलेखालीमा चौथो बच्चाको रूपमा जन्मिँदा मात्र १ केजीका थिए डाक्टर केसी। १ किलो शिशु भएर जन्मिएका केसी बुवाले भनेको स्मरण गर्दै भन्छन्, ‘तेरो जिन्दगी नै बोनस हो। डाक्टर अभावमा पनि आमाले तँलाई बचाउन र हुर्काउन कुनै कसर छाडिनन्। अब तँ डाक्टर भएर अरूलाई बचाउनुपर्छ ।’
कर्णाली सुर्खेतको विरेन्द्रनगरमा उपचार गर्न आउनेहरु पहिला सम्झिन्छन् डाक्टर केसीलाई । कुनै समय कर्णाली प्रदेश अस्पतालमा कार्यरत हुँदा थुप्रै आमा र बच्चाहरुको उपचार गरे केसीले । भनिन्छ, डाक्टरसँग भेट भएपछि नै मानिसको आधाआधी रोग निको हुन्छ । अझ डाक्टर केसी त हरेक बिरामीको उपचार कथा सुनाएर कि कथा सुनेर सुरु हुन्छ। आफूले उपचार गरेको हरेक बिरामीसँग उनले चिया खाएर कथा सुनेका छन्। ‘मेरा कथाका पात्रहरु ती बिरामी हुन् जसले मसँग उपचार गरे,’ उनले भने ।
डाक्टर केसीको स्वस्पर्श पुस्तक पनि मनोरोगले ग्रसित बिरामीका लागि ओखती हुन सक्छ । मानसिक रोग निको पार्न सक्छ । उनी मनको कुरा यति सरल ढंगले कहन्छन् पुस्तक मार्फत । ‘लेख्दा नै धेरैपटक भावुक भएको थिएँ,’ लेखक केसीले भने, जंगबहादुर, गर्भे दाइ, एकजोडी बाआमाको कोरोनाकालको कथा र ध्यारगाउँकी बच्ची कथा लेख्दा धेरैपटक रोएको छु ।’
करिब एक दशक सुर्खेतस्थित प्रादेशिक अस्पतालमा सेवा गरेका डाक्टर केसी हाल निजी क्लिनिक चलाउँदै आएका छन्।
केसी बाल्यकालमा राजा वीरेन्द्रलाई भेट्नका लागि वीरेन्द्रनगर जाँदाको अनुभव पनि सुनाउँछन्, ‘राजालाई कसरी सम्बोधन गर्ने भनेर सोधेको थिएँ बुवालाई । आम मान्छेलाई जसरी सम्बोधन गर्छौ त्यसरी नै गर भन्नु भयो। अनि बुवाले भन्नु भयो— कोही मानिसलाई ठूलो र कसैलाई सानो बनाएर हेर्ने नगर । मानिसहरु सबै समान हो ।’
सुर्खेतमा १० कक्षासम्म पढेका डाक्टर केसीले काठमाडौंको निस्ट कलेज प्लस टु सकाए। डाक्टरी पढ्न नाम निकालेपछि नेपालगन्ज मेडिकल कलेजमा डाक्टरी विषय पढे। पढाइ सकेर दुई वर्ष काम गर्न काठमाडौं आए। यस्तैमा फिलिपिन्स गएर बालरोग विशेषज्ञता हासिल गरे।
तीन वर्षपछि फिलिपिन्सबाट फर्किएर पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा पढाउन थाले। चार महिना पढाएपछि आफ्नै थातथलो कर्णाली फर्किए। उनी सुर्खेत पुगेपछि बाल्यकालमा देखेको अभाव र अहिले भेटेको पात्रमा खासै परिवर्तन देखेनन्। जब समाज र समाजका पात्रहरू भेटे अनि उनको मनमा भूकम्प गयो। त्यसपछि सिर्जिए, शून्यको मूल्य।
‘पोलिसी मेकरले पनि केही कुरा सिकून् भन्ने लागेर शून्यको मूल्य लेखेको हुँ’, उनले भनेका थिए, ‘आमा अर्थतन्त्र हाम्रो समाज विकासको बीउ हो भन्ने मूल सन्देश बोकेको पुस्तक शून्यको मूल्य हो।’ यो किताब उनको पहिलो कृति हो ।
केसीले यसअघि कर्णाली र सिंगो नेपालका महिलाको स्वास्थ्यको समाजशास्त्रीयकोणबाट शून्यको मूल्य किताब लेखेका थिए । सो किताबले ‘उत्तम शान्ति’ पुरस्कार जितेको थियो ।
स्वास्थ्य क्षेत्रमा दिएको उल्लेखनीय योगदानको कदर गर्दै ‘राष्ट्रिय हेल्थ अवार्ड–२०८१’ द्वारा सम्मानित केसी स्वस्थ महिला भए राष्ट्र नै सबल हुने बताउँछ्न् ।
आमाहरूको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक विकाससँगै शैक्षिक स्तर पनि उकास्न जरुरी ठान्छन्। त्यो अझ कर्णाली भेगमा अत्यन्तै खाँचो देख्छन्। त्यसैले त उनले वादी समुदायका ६ जना नानीलाई होस्टल राखेर बोर्डिङ स्कुल पढाउँदै आएका छन्। २५ हजार महिनाको खर्च गरेका छन्। यो कर्मप्रति परिवारको पनि सहयोग छ, उनलाई।
डेढ दशक अघि जब कर्णाली पुग्दा खासै परिवर्तन नदेखेका डाक्टर केसी पछिल्लो समय प्रदेश र स्थानीय सरकारसँग आशावादी छन् । राम्रा नेताहरु आएकाले तुलनात्मक रुपमा धेरै विकास भएको कर्णाली देख्छन्। भन्छन्, ‘संघीयता आएयता धेरैथोक बदलिएको छ । अब राम्रो नेता हुने भने १० वर्षमा कर्णाली राम्रैसँग विकास हुन सक्छ ।’
गए वर्ष जाजरकोटमा भुकम्प पीडितका लागि डाक्टर केसीले स्वास्थ्य शिविर नै चलाए। साथै कर्णालीका धेरै दुर्गम गाउँमा उनले स्वास्थ्य शिविर चलाएका छन्। जीवन पाएपछि जीवित हुनु नै सबै भन्दा ठूलो सम्पत्तिका रुपमा लिने पर्ने बुझाइ सुनाउँछन् डाक्टर केसी ।
संसारको धनी मानिस र भनिएको गरिब मानिसबीच खासै अन्तर नदेख्ने केसीकुनै समय डाक्टर पाउन गाह्रो हुने कर्णालीको प्रादेशिक अस्पतालमा सयौंको संख्यामा डाक्टर भेट्छन्। कर्णालीलाई सिनेमा सुटिङ स्थल बनाउने सपना देख्छन् र निरन्तर सम्बन्धित सरोकारवालासँग कुरा राख्दै आएका छन् ।