
पोर्चुगलको राजधानी लिस्बनको एक ऐतिहासिक तथा पर्यटकीय पहिचान बोकेको ग्लोरिया फ्युनिकुलर (केबल रेल) दुर्घटनाग्रस्त हुँदा कम्तीमा १५ जनाले ज्यान गुमाएका छन्।
ज्यान गुमाउनेमा केही विदेशी पनि रहेको र उनीहरुको पहिचान खुल्न बाँकी रहेको जनाइएको छ।
बुधबार साँझ भएको यो दुर्घटनामा अन्य १८ जना घाइते भएको जानकारी त्यहाँको आपतकालीन सेवाले दिएको छ। पोर्चुगलको आपतकालीन स्वास्थ्य सेवा प्राधिकरणका अनुसार घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक बच्चसहित बाँकी १३ जनालाइ भने सामान्य चोटपटक लागेको जनाइएको छ। आपतकालीन सेवाका अनुसार, यो दुःखद् दुर्घटना लिस्बनको प्रसिद्ध अवेनिडा दा लिबेर्दादे नजिकै साँझपख भएको थियो।
सामाजिक सञ्जालमा दुर्घटनाका क्षणहरुको तस्बिर र भिडियोहरु सार्वजानिक भएका छन्। लिस्बनको पहिचान बनेको चम्किलो पहेँलो रङको रेलको डब्बा पल्टेर लगभग ध्वस्त भएको देखिन्छ भने घटनास्थल धुवाँले भरिएको र मानिसहरू चिच्याउँदै भागिरहेको देखिन्छ।
एक प्रत्यक्षदर्शी, तेरेसा द’आभोले पोर्चुगलको पत्रिका ‘अब्जर्भाडोर’लाई भनिन्, ‘त्यो अनियन्त्रित थियो, ब्रेक नै नभएको जस्तो। हामी सबै भागाभाग गर्न थाल्यौँ किनभने हामीलाई लाग्यो कि त्यो तल रहेको अर्को डब्बामा ठोक्किन्छ। तर त्यो एउटा मोडमा पल्टिएर सिधै भवनमा ठोक्कियो।’
अर्का एक प्रत्यक्षदर्शीले स्थानीय टिभी च्यानललाई भने, ‘फ्युनिकुलर तीव्र गतिमा ओरालो झर्दै थियो। जब त्यो भवनमा ठोक्कियो, त्यो कागजको बाकसजस्तै टुक्रा-टुक्रा भयो। त्यहाँ कुनै ब्रेक थिएन।’
घटनालगत्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट दुःख र समवेदना व्यक्त गरिएको छ। पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौसाले यसलाई ‘दुःखद् क्षण’ भन्दै पीडित परिवारप्रति ‘गहिरो समवेदना र ऐक्यबद्धत’ व्यक्त गरे।
लिस्बनका मेयर कार्लोस मोएडासले राजधानी ‘शोकमग्न’ भएको बताउँदै यसलाई ‘सहरका लागि अत्यन्तै दुःखद् दिन’ भनेका छन्।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयेन र स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले पनि यस भयानक दुर्घटनाप्रति स्तब्ध भएको बताउँदै पीडितहरू र पोर्चुगलका जनताप्रति समवेदना व्यक्त गरेका छन्।
अधिकारीहरूले दुर्घटनाको यकिन कारणबारे अनुसन्धान सुरु भइसकेको बताएका छन्। यद्यपि, ‘अब्जर्भाडोर’ पत्रिकाका अनुसार प्रारम्भिक अनुसन्धानले रेलको केबल छुट्टिएर नियन्त्रण गुमेको र नजिकैको भवनमा ठोक्किएको देखाएको छ।
फ्युनिकुलर सञ्चालन गर्ने कम्पनी ‘क्यारिस’ले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन सुरु गरिएको र कम्पनीले ‘मर्मतसम्भारका सबै प्रोटोकलहरू पूर्ण रूपमा पालना गरेको’ दाबी गरेको छ।
के हो ग्लोरिया फ्युनिकुलर ?
सन् १८८५ मा सञ्चालनमा आएको ग्लोरिया फ्युनिकुलर एक स्पातको केबलमा सञ्चालन हुने सानो रेल जस्तै डिब्बा भएको पर्यटकियी रोजाइको सार्वजानिक यातायात हो।
लिस्बनको सबैभन्दा प्रसिद्ध पर्यटकीय आकर्षणहरूमध्ये एक हो। यसले सहरको तल्लो भागमा रहेको रेस्तौरादोरेस चोकलाई रमणीय बाइरो आल्टो क्षेत्रसँग जोड्छ।
करिब २७५ मिटरको ठाडो उकालो यात्रा यसले जम्मा तीन मिनेटमा पूरा गर्थ्यो।
लिस्बनको पहाडी भू-बनोटमा यी फ्युनिकुलरहरू स्थानीय तथा पर्यटक दुवैका लागि यातायातको एक महत्त्वपूर्ण माध्यम हुन्।
चम्किला पहेँला डब्बाहरू ढुंगाले छापिएका साँघुरा गल्लीहरूमा गुड्दाको दृश्य लिस्बनको एक अविस्मरणीय चिनारी मानिन्छ। यो दुर्घटनाले लिस्बनको ऐतिहासिक पहिचानमाथि गहिरो चोट पुऱ्याएको छ र पोर्चुगलको राजधानीलाई शोकमा डुबाएको छ।