हुम्ला- सर्केगार्ड गाउँपालिका-१, जैर गाउँको माझवस्तीका स्थानीयवासीले आफ्नो गाउँको सिर्जनशील आधारभूत विद्यालय समायोजन गरेको विरोधमा वडा कार्यालयमा तालाबन्दी गरेका छन्।
जैका माझ गाउँवस्तीका स्थानीय प्रयागलाल बुढाले ७० जना विद्यार्थी रहेको विद्यालयलाई आवश्यक विद्यार्थी हुँदाहुँदै तल्लो गाउँको बिहानी आविमा समायोजन गरिएको भन्दै यस निर्णयको विरोध गरेका छन्।
गाउँपालिकाको शिक्षा विकास तथा समन्वय इकाईले गरेको यो निर्णयको विरोधमा महिला, पुरुष र विद्यार्थीहरू मिलेर नारा जुलुससहित वडा कार्यालयमा ताला लगाएको उनले बताए।
स्थानीयवासीका अनुसार समायोजन भएर जानुपर्ने बिहानी आविमा शिक्षकहरूलाई जान दिइएको छैन। उनीहरूले यो निर्णयमा पुनर्विचार नभएसम्म वडा कार्यालयमा तालाबन्दी कायम राख्ने र सिर्जनशील आधारभूत विद्यालयमा पठनपाठन जारी राख्ने बताएका छन्।
सिर्जनशील आधारभूत विद्यालयमा पठनपाठन राम्रो भएकाले तल्लो गाउँका २५ जना विद्यार्थीहरू पनि त्यहाँ पढ्न आउने गरेको स्थानीयको भनाइ छ।
स्थानीयले पूर्वाग्रही भएर आफ्नो गाउँको विद्यालय मात्र समायोजन गरिएको आरोप लगाएका छन्। एकै गाउँमा तीनवटा विद्यालय (सिर्जनशील आवि, बिहानी आवि र गणतन्त्र आवि) भएपछि त्यसलाई समायोजन गरेर दुईवटामा झारिएको सर्केगार्ड गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको छ।
वडाध्यक्ष बल कार्कीले गाउँपालिकाले विद्यालय समायोजनको निर्णय गरेकोले अब त्यो कार्यान्वयन हुने बताएका छन्।

                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































