सामाजिक सञ्जाल बन्दबारे के भन्छन् हरिवंश आचार्य र दीपकराज गिरी?

सामाजिक सञ्जाल बन्दबारे के भन्छन् हरिवंश आचार्य र दीपकराज गिरी?
+
-

काठमाडौँ– कलाकार हरिवंश आचार्य आफ्नो नयाँ फिल्म ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक गर्ने तयारीमा थिए। तर, सर्वोच्च अदालतले सामाजिक सञ्जाल बन्द गर्न दिएको परमादेशसँगै सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सूचीकरण नभएका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय आजैबाट कार्यान्वयन हुने बताएका छन्। फेसबुक, युट्युब, ट्विटरलगायतका २६ वटा सामाजिक सञ्जाल बिहीबारदेखि नै बन्द हुने सूचना तथा सञ्चार मन्त्रालयले जानकारी दिएको छ।

यस्तो अवस्थामा के कलाकार आचार्य खुसी छन्?

‘हरिबहादुरको जुत्ताको ट्रेलर सार्वजनिक गर्ने तयारीमा थियौं। तर युट्युब नै बन्द हुने भएपछि कहाँ गर्ने भनेर सोचमा परिएको छ,’ कलाकार आचार्यले भने, ‘अब पुरानै शैलीअनुसार माइकबाट भट्याउँदै फिल्मको पब्लिसिटी गर्नु पर्ला।’

तर कलाकार आचार्य पहिलेको जस्तो माइक घन्काएर पब्लिसिटी गर्ने वातावरण नरहेको हुँदा फेसबुक, इन्स्टाग्राम र युट्युबको आवश्यकता खट्किएको बताउँछन्। भन्छन्, ‘जमाना विज्ञान प्रविधिको युग भन्ने अनि सरकार चाहिँ सामाजिक सञ्जाल बन्द गर्न लगाउने? बरू सामाजिक सञ्जाललाई क्रमशः दर्ता प्रक्रियामा ल्याउँदा ठीक होला।’

सामाजिक सञ्जाल मान्छेको जीवनशैलीको एउटा महत्त्वपूर्ण भाग बनेको छ। छिटो छरितो सूचना प्रवाह हुने माध्यम पनि सामाजिक सञ्जाल नै हो। गीतसंगीतको बजारलाई फराकिलो बनाउन पनि सामाजिक सञ्जालको हात छ। युट्युबबाटै महिनाको लाखौं कमाउँदै आएका सेलिब्रेटी कलाकारदेखि सञ्चार गृहहरू पनि छन्।

सामाजिक सञ्जालमध्ये युट्युब त रोजगारका रूपमा धेरै नेपालीले प्रयोग गर्दै आइरहेका छन्। यस्तो बेला फेसबुक, युट्युब बन्द हुँदा धेरै युवाको रोजीरोटी खोसिन पुग्ने बताउँछन् कलाकार आचार्य। भन्छन्, ‘दर्ता गर्नका लागि नआउने संस्थासम्म सरकार पुग्ने हो। सरकारले कर्मचारी खटाएर दर्ता प्रक्रियालाई प्रभावकारी बनाउने हो। सरकारलाई अप्ठ्यारो छ भने सहज बनाउने वातावरण बनाउनुको साटो सामाजिक सञ्जाल नै बन्द गर्नु जायज होइन।’

आचार्य सामाजिक सञ्जाल बन्द हुँदा सहज ‘कम्युनिकेशन’ को पहुँच टुट्ने पनि बताउँछन्। ‘सामाजिक सञ्जालबाट सेलिब्रेटीको मात्रै नभएर आम नेपाली र नेपालबाहिर बस्नेबीच पनि कम्युनिकेशन हुँदै आएको थियो। दुर्गम क्षेत्रकी आमाहरू आफ्ना विदेशमा बसेका छोराछोरीसँग डाटा लिएर फेसबुक म्यासेन्जरमा भिडियो कल गर्थे। यो सहज पहुँच सरकारकै कारण गुम्नु राम्रो होइन।’

पछिल्लो समय युट्युबकै कारण गीत संगीतको बजार बढेको थियो। आर्थिक कारोबार बढेको थियो। थुप्रै गायक कलाकारले आफ्ना गीतसंगीत आफ्नै नामको युट्युबबाट सार्वजनिक गर्थे। तर सरकारले आफूलाई मात्रै सहज हुने बारे सोचेको बताउँछन् आचार्य।

‘सामाजिक सञ्जालमार्फत कुनै गलत कुरा चुहावट भएको छ या हुन सक्छ भने त्यसको नियमन गर्नु पर्ने सरकारले हो। तर बन्दै गर्नु सही निर्णय होइन,’ कलाकार आचार्यले भने, ‘सरकारले सामाजिक सञ्जाल धेरै दिनलाई बन्द गर्न सक्छ जस्तो लाग्दैन। यो सर्वसाधारणको जीवनशैली जोडिएको कुरा हो। त्यसैले तपाईं हामी सबैले सामाजिक सञ्जाल छिट्टै फर्काउनु पर्छ र फर्किन्छ भन्ने आसमा छु।’

सामाजिक सञ्जाल बन्द गरेर सरकारले ठूलै प्वाङ टालियाे भन्ने लागेकाे हाेला, त्याे गलत हो भन्छन्, कलाकार निर्मता दीपकराज गिरी। ‘पानीको मूललाई एकातिर बन्द गर्दा अर्कोतिर दुलो बनाएर निस्किन्छ नि, यस्तै हो सामाजिक सञ्जाल पनि। कुनै न कुनै विकल्प आउँछ।’

सामाजिक सञ्जाल आयो। निर्वाध रूपमा प्रयोग भयो। आम मान्छेको पहुँचमा थियो। कसैले सही सदुपयोग गरे त कसैले दुरुपयोग गरे। सामाजिक सञ्जालबाटै नेताहरुले चुनाव प्रचार गरे। त्यतिखेर कुनै कानुन बनेन। तर विस्तारै कानुनको आवश्यकता बढ्यो।

गिरी भन्छन्, ‘पहिला सामाजिक सञ्जाल कम चल्थ्यो कानुन पनि थिएन। जब यसलाई अनुशासित र व्यवस्थित रूपमा चलाउन सकेनौँ अनि सरकार पनि आजित भयो। अनि कानुनको आवश्यकता पर्‍यो। तर सरकारले सही नियमन भने गर्न सकेन। त्यसैले सरकार फेल भयो। आफू असफल भएकाे थाहा पाएर सरकारले स्वयंलाई बचाउन सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गर्‍यो।’

गिरी सोसल मिडिया बन्द गर्दा अरू देशलाई खासै असर नपर्ने बताउँछन्। र, उनी यो असम्भव देख्छन्। भन्छन्, ‘हिजो टिकटक पनि बन्द भएको थियो। केके नै प्रलय जान्छ भनेको केही भएन। बन्द हुँदा र नहुँदामा खासै फरक परेन। अब फेसबुक बन्द हुँदा पनि फरक पर्दैन। हामी केही वर्ष पछाडि परेको जस्तो अनुभूति चाहिँ हुन सक्छ।’

सामाजिक सञ्जालबाट हामीले हाम्रो प्रतिभालाई उजागर गर्न पाएका थियौं। आफ्नो भावना साट्ने माध्यम पनि थियो। आफ्नो विचार नसुन्ने साथीसर्कल नभएकाहरूका लागि सामाजिक सञ्जाल सहज पहुँच थियो। त्यसले थुपै मानिसहरु सोसल मिडिया निर्भर हुँदै गएका थियो। तर संसार जसरी चलाए त्यसरी चल्ने गरेको बताउँछन् कलाकार गिरी। भन्छन्, ‘यो चिजको नियन्त्रण गर्न खोज्दा सरकार असफल भएको देख्छु म।’

टेलिग्राममार्फत् ठगी सम्पत्ति शुद्धीकरणसम्बन्धी गतिविधि भएको भन्दै यसलाई बन्द गर्ने तयारीमा लागेको हो सरकार। सीमाभित्र सूचीकरण हुन नआएका सामाजिक सञ्जालहरूलाई नेपालमा निष्क्रिय गराउन र सूचीकरण गरेमा सोही क्षणदेखि सक्रिय गराउने पनि सञ्चार मन्त्रालयले भनेको छ।

पटक–पटक सूचना नै जारी गरेर आग्रह गर्दा पनि नेपालमा आधिकारिक रुपमा दर्ता हुन नआएपछि सरकारले फेसबुक, युट्युब, ह्वटस्एपलगायतका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको हो जसमा २६ वटा सामाजिक सञ्जाल बन्द हुने भएका छन्। फेसबुक, म्यासेन्जर, युट्युब, एक्स (ट्वीटर), इन्स्टाग्राम, ह्वाट्सएप, स्न्याप च्याट बन्द हुने सूचीमा छन्।

यसअघि सामाजिक सद्भाव एवं सामाजिक वातावरण नकारात्मक असर परेको भन्दै कात्तिक २०८० मा नेपालमा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाइएको थियो। त्यसको करिब १० महिनासम्म प्रतिबन्ध खेपेको टिकटक ६ भदौ २०८१ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार फुकुवा भएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?