
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्ध पछि पनि कुनै पनि नाममा युक्रेनमा पश्चिमि राष्ट्रका सेना अस्विकार्य हुने बताएका छन्। उनले युद्धविराम भएपछि पठाइने भनिएको पश्चिमी मुलुकको (सुरक्षा आश्वासन बल) को प्रस्तावलाई पूर्ण रुपमा खारेज गर्दै भने यदि त्यस्तो भएमा उनीहरुलाई सिंधा निसाना बनाइने छ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले युक्रेनका २६ वटा सहयोगी मुलुकले युद्ध रोकिएलगत्तै “भूमि, समुद्र वा हवाई मार्गमार्फत” सैनिक पठाउने प्रतिबद्धता जनाएको जानकारी सार्वजानिकलगतै पुटिनले यो योजनाको कडा शब्दमा निन्दा गरेका हुन्। यद्यपि, म्याक्रोंले कुन–कुन मुलुकका सेना युक्रेन पठाउने भन्नेबारे भने केही खुलाएनन्।
पुटिनले चेतावनी दिंदै भने ‘युक्रेनमा पठाइने कुनै पनि सेना रुसको ‘वैध निशाना’ मा पर्ने छन्। हाललाई युद्धविराम हुने सम्भावना निकै कम देखिन्छ। गत महिनाको अलास्कामा भएको राष्ट्रपति पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको बैठकपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की संग भेटवार्ता हुने आशा पलाएको थियो।
तर, अलास्का बैठकपछि बेलायत र फ्रान्सको नेतृत्वमा बनेको ‘इच्छुकहरूको गठबन्धन’ ले सम्झौता भएमा किभलाई सुरक्षा ग्यारेन्टी दिने तयारीलाई तीव्र बनाएका छन्। जसका लागि उनीहरुले युरोपेली सहयोगि देशका सेना युक्रेन पठाउने समझदारी गरिरहेका छन्।
राष्ट्रपति म्याक्रोंले अन्य राष्ट्रले पठाउने भनेको सेना ‘नयाँ ठूलो आक्रमण रोक्न’का लागि मात्र हुने बताए। जेलेन्स्कीले बिहीबार पेरिसमा भएको बैठकमा गरिएका निर्णयलाई पहिलो ठोस कदम भन्दै खुसी ब्यक्त गरेका थिए।
अमेरिकाले आफ्नो संलग्नताको स्तर अझै स्पष्ट पारेको छैन। फ्रान्सेली राष्ट्रपति म्याक्रोंले यसबारे अन्तिम निर्णय केही दिनभित्र हुने बताएका छन्। ट्रम्पले आफू ‘पुटिनसँग निकै राम्रो संवाद’ गरिरहेको र छिट्टै फेरि कुरा गर्ने योजना बनाएको बताएका छन्। पुटिनले पनि शुक्रबार यसलाई पुष्टि गर्दै भने, ‘अमेरिकी राष्ट्रपतिसँग हाम्रो खुला संवाद जारी छ।’
पुटिनले युक्रेनसँगको शिखर बैठक मस्कोमै आयोजना गर्न तयार रहेको र सुरक्षा उपलब्ध गराउने प्रस्ताव पनि गरेका छन्। जेलेन्स्कीले भने यसलाई गम्भीर नभएको प्रमाणका रूपमा लिएर उपहास गरेका छन्। त्यसको विकल्पमा तटस्थ राजधानी शहरहरूको प्रस्ताव गरिएको छ।
यसैबीच, चीनका राष्ट्रपति सी चिनफिङ र उत्तर कोरियाली नेता किम जोङ उनसँगै देखिएपछि पुटिनले आफ्ना सेना युक्रेनमा सबै मोर्चामा अगाडि बढिरहेको बताएका थिए। पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले ‘नाटो वा अन्य कुनै विदेशी सेना रूसका लागि खतरनाक हुनेछ, किनकि हामी नाटोका शत्रु हौँ। युक्रेनमा कुनै पनि वाहिरि सेना स्विकार्य हुन्न।’