
- नेपालमा पूर्व क्षेत्रमा निष्क्रिय निम्नचापीय क्षेत्रको कारण केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको देखिएको छ।
- कोशी र कर्णाली प्रदेशका पहाडी भागमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना महाशाखाले औंल्याएको छ।
- महाशाखाले पहिरो तथा नदीनालामा पानीको सतह बढ्ने चेतावनी दिँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ- हाल मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थान र पश्चिममा सरदरभन्दा दक्षिणतिर अवस्थित रहेको छ ।
सिक्किम आसपासको निम्नचापीय क्षेत्रको प्रभाव नेपालको पूर्वी भूभागमा पर्ने देखिएको जल तथा मौसम विज्ञान विभाग पूर्वानमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तगा बाँकी भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भागका केही स्थान र बाँकी भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र कर्णाली प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली र बाँकी भागमा आंशिक बदली रहनेछ । कोशीलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान र बाँकी पहाड र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका तराई भागका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।