
- वरिष्ठ कलाकार हरिवंश आचार्यले जेन जीको आन्दोलनलाई कुशासनविरुद्धको प्राकृतिक प्रतिक्रिया र नेतृत्वको कार्यशैलीमाथि प्रश्नको रूपमा व्याख्या गरेका छन्।
- मदनकृष्ण श्रेष्ठले देशको कठिन समय स्मरण गर्दै नातावाद, कृपावाद र भ्रष्टाचारकै कारण हजारौं युवा विदेशिन बाध्य भएको कुरामा चिन्ता व्यक्त गरे।
- श्रेष्ठको अनुसार लामा समयदेखिको उकुसमुकुस नै जेन जी पुस्ताको आवाज हो, जुन सुन्नुपर्ने र भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
काठमाडौं – नेपालमा भ्रष्टाचार र अव्यवस्थाविरुद्ध सुरु भएको युवा पुस्ता (जेन जी)को प्रदर्शनलाई वरिष्ठ कलाकार हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ दुवैले समर्थन जनाएका छन्। सामाजिक सञ्जालमा लेख्दै उनीहरूले यो आन्दोलनलाई देशमा व्याप्त कुशासन र निराशाको स्वाभाविक उपजका रुपमा व्याख्या गरेका छन्।
कलाकार हरिवंश आचार्यले जेन जीको आन्दोलनलाई वर्तमान नेतृत्वको कार्यशैलीमाथि उठेको प्रश्नका रूपमा हेरेका छन्।
उनले एक उदाहरण दिँदै भने, “मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो। म हरेक दिन मनमा सोच्थेँ यो बाटो यति चाँडो कसरी भत्कियो? तर अहिलेको पुस्ता यस्ता प्रश्न मनभित्र मात्र सोच्दैनन्, प्रश्न उठाउँछन्। जनताको करले बनेको बाटो किन भत्कियो? कसरी भत्कियो? यसको जिम्मेवारी कसको?”
आचार्यका अनुसार यो प्रदर्शन कुनै व्यवस्थाको विरोध नभएर नेता र कर्मचारीको कार्यशैलीविरुद्धको आवाज हो। उनले उमेर पुगेका नेताहरुलाई आफ्नो कार्यक्षमता सुधार्न र युवा पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन्।
कलाकार मदनकृष्ण श्रेष्ठले पनि जेन जीको यो आन्दोलनलाई खुलेर समर्थन गरेका छन्। उनले देशले धेरै कठिन समय पार गरेको स्मरण गर्दै भने, “देशले हरेक कालखण्ड पार गरेको पढेको छु र कति त आफैँले पनि भोगेको छु। आवाजलाई दबाएको देखेको छु, भोगेको छु।”
श्रेष्ठले देशमा व्याप्त नातावाद, कृपावाद, सत्तामोह र भ्रष्टाचारले गर्दा हजारौं युवा रोजगारीका लागि विदेशिन बाध्य भइरहेकोमा चिन्ता व्यक्त गरे। उनले भनेका छन्, “भ्रष्टाचारले चरम सीमा नै नाघेको त अहिले हाम्रो आँखा अगाडि छर्लङ्ग नै छ।”
श्रेष्ठका अनुसार, लामो समयदेखिको यो उकुसमुकुस नै अहिलेको जेन जी पुस्ताको आवाज हो। उनले यो आवाज सुनिनु पर्ने, भ्रष्टाचारीहरु थुनिनुपर्ने, र जनताको चाहना बुझ्ने नेता चुनिनुपर्नेमा जोड दिएका छन्।