
कास्की- जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरभित्र आज बिहान ११ः०० देखि साँझ ५ः०० बजेसम्म निषेधाज्ञा जारी गरेको छ ।
जेनजी प्रदर्शनका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिको सिफारिसअनुसार पोखरा क्षेत्रमा लागू हुनेगरी सो आदेश गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।
निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुने, धर्ना, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । यस अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्न, इन्धन, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी सञ्चालन गर्न पाइनेछ ।
साथै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थालगायत सार्वजनिक संस्थानका कर्मचारीले आफ्नो परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न सक्ने व्यवस्था मिलाइएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।
पोखरामा जेनजी प्रदर्शनका क्रममा गत मङ्गलबार दुई जनाको आगजनीमा परेर मृत्यु भएको पुष्टि भएको छ । यसैगरी, प्रदर्शनकारीले तीन दर्जनभन्दा बढी सरकारी कार्यालयमा आगजनी गरेर क्षति पु¥याएका छन् ।