
झापा — जिल्ला प्रशासन कार्यालय झापाले शुक्रबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कडा कर्फ्यू लागू गर्ने आदेश जारी गरेको छ।
गत भदौ २३ र २४ गते जेनजी नेतृत्वको आन्दोलनका कारण जिल्लामा शान्ति र सुरक्षा प्रभावित हुनसक्ने अवस्था देखिएको भन्दै प्रशासनले कर्फ्यू लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले हस्ताक्षरित आदेशअनुसार शुक्रबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म अत्यावश्यक काममा मात्र सुरक्षाकर्मीको अनुमति लिएर बाहिर निस्कन पाउनेछन्।
सर्वसाधारणलाई दैनिक उपभोग्य सामग्री खरिद गर्न सहज होस् भनेर शुक्रबार बेलुकी ५ बजेदेखि साँझ ७ बजेसम्म कर्फ्यू खुकुलो गर्ने निर्णय गरिएको छ। तर त्यसपछि पुनः बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कडा कर्फ्यू जारी रहने प्रशासनले जनाएको छ।
कर्फ्यू अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, प्रेस, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, दूध, पानी, तरकारी बोकेका गाडी तथा विद्युत/दूरसञ्चार सेवामा संलग्न हुने आपत्कालीन सेवाका सवारीसाधनलाई भने छूट दिइने आदेशमा उल्लेख गरिएको छ।